सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार

२०७६ असोज १२, ०१:१९ जनक विष्ट

सुदूरपश्चिममा दशैँ तिहारका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाईएको प्रहरीले जनाएको छ। चाडपर्वका बेला विभिन्न बहानामा हुने लुटपाट, चोरी डकैती लगायतका घटना हुन नदिन प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाईएको दावी गरिएको हो। दशैँ तिहारका बेला विभिन्न बाहानामा सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या नौलो नभएपनि प्रहरीले भने विशेष सुरक्षा योजना लागु गरेको दावी गरेको हो।

कामको सिलसिलामा देश भित्र र बाहिर रहेकाहरु दशैँ मनाउन गनतव्यतीर फर्किने क्रम सुरु भएसंगै विभिन्न बाहानामा हुने लुटपाट, चोरी डकैती जस्ता समस्या नरोकिएको जनगुनासोका बीच प्रहरीको यस्तो भनाई आएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले नौ वटै जिल्लामा दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना लागु गरिएको  जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी तारणी प्रसाद लम्सालले दशैँ तिहार र छठ पर्वमा सर्वसाधरणले सास्ती नपाउँन भनेर विशेष सुरक्षा योजना बनाईएको बताए। नागरिकले हैरानी र सास्ती खेप्न नपरोप भन्ने हेतुले भारतसंग सीमा जोडिएका जिल्लामा नागरिक सीमा सहायता कक्ष स्थापना गरिएको डिआईजी लम्सालले दिनेश खबरलाइ बताए।

उनले सीमामा दुःख पाएमा तत्काल सहायता कक्षमा सम्पर्क गरी समस्या राख्न सकिने जनाए। दुई देशका सुरक्षा निकायका बिचमा पनि सीमामा अपराधिक गतिविधी हुन नदिनतर्फ सचेत रहदै आपसी समन्वयमा काम गर्ने सहमती भएको उनको भनाई छ। अन्य जिल्लाका बसपार्क लगायतका क्षेत्रमा पनि सहायता कक्ष स्थापना गरिएका छन्।

 प्रहरीले सीमा र बसपार्क क्षेत्रमा मात्र नभएर अन्य ठाउँमा पनि अनेक बाहानामा सर्वसाधारणले पाउन सक्ने सास्तीलाई मध्यनजर गर्दै सोही अनुसारको रणनीति अपनाईएको दावी गरिएको छ। यातायात व्यवसायीहरुले बसमा क्षमता भन्दा बढि यात्रु चढाउने, निर्धारित दर भन्दा बढि भाडा लिने, क्यु फ्रि का नाममा यात्रुलाई सास्ती दिन नदिने तर्फ पनि सचेत रहेको बताउँदै डिआइजी लम्सालले सम्भावित घटना भईहालेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे।

उनले सादा पोशाकमा समेत ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए। अन्य जिल्लाको तुलनामा क्षेत्रफलका हिसाबले समेत ठुलो मानिएको र प्रदेशको राजधानी समेत रहेको कैलालीमा सुरक्षा चुनौती बढ्दो छ। तर कैलाली प्रहरीले भने दशैँ तिहारमा नागरिकले सास्ती नपाउने भन्ने उद्देश्यले सोही अनुसारको सुरक्षा योजना बनाएर संयन्त्र परिचालन गरिएको जनाएको छ।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जिल्लालको गौरीफन्टा नाकामा सीमा सहायता कक्ष र धनगढी, टीकापुर, अत्तरिया लगायतका ६ स्थानमा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको बताए। उनले समस्यामा परेको व्यक्तिले प्रहरी खोजीराख्न नपरोस् भन्दै स्थापना गरिएका सहायता कक्षमा नागरिकले आफ्नो समस्या राखेमा तत्काल समाधान गर्न सकिने प्रकृतिको भए तत्कालै र नभए माथिल्लो निकायबाट समाधान खोजिने जनाए।

प्रहरी नायब उपरिक्षक बस्नेतले कुनै घटना भए एक सय र एक सय चार नम्बरमा फोन गर्न पनि आग्रह गरे। तर प्रहरीले वर्षेनी चाडपर्व विशेष सुरक्षा योजना लागु गरेपनि सर्वसाधारणले पाउने सास्ती भने बढ्दै गएको गुनासो गरिदै आएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस