सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै अनसनमै डेउडा

२०७६ असोज १२, १२:३७ खबर संवाददाता

बैतडीमा विगत २१ दिनदेखि जारी रिले अनसनमा डेउडा मार्फत नेपाल–भारत सीमाको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी गत असार २२ गतेदेखि सुरु गरिएको अनसनमा स्थानीयले आफूहरुको माग सम्बोधन गरीदिन डेउडा मार्फत सरकारसंग आग्रह गरेका छन्।

स्थानीयले प्रदेशका पहाडी जिल्लाको विकासका लागि झुलाघाटमा पुल निर्माण गर्नुपर्ने माग गर्दै राजनीति नगर्न आग्रह गरेका छन्। डेउडामा मार्फत आग्रह गर्दै उनीहरुले भनेका छन्,‘झुलाघाटमा पुल हालीदे विकासको आधार, जनखेलै गट्टी राजनिती, गरिहाल विचार।’ झुलाघाटमा पुल निर्माणको माग गर्दै सदरमुकाम गडी पुगेर अनसन बस्नुपर्ने बाध्यता आईलागेको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन्।

‘सहीदको जिल्ला बैतडी, कि आपत्ती पडी, पुल हाली दे झुलाघाट भणी, क्याई आउन पड्यो गडी।’ डेउडामा भनिएको छ। यस्तै तत्काल भारतसंग सम्झौता गरी पुल निर्माणको काम अगाडी बढाउन सरकारसंग माग गरिएको छ। ‘ए सरकार सुण आब, जनताकी पुकार, भारतसंग सम्झौता गन्र्या, झट्ट गर विचार।’ काम बिग्रिसकेपछि चिन्ता गर्नुको अर्थ नभएको उल्लेख गर्दै भनिएको छ, ‘सुई चरो सुईकन लाग्यो, रेल गाडी अईतीर, पछुतायाले क्या हुन्या हो विगड्या पैतर।’

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठन भएको पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी विगत २१ दिनदेखि जारी अनसनमा सहभागीले डेउडा मार्फत आफ्ना माग राखेका हुन्।  नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्तिपूर्ण रुपमा जिल्लाबासीले दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो।

कमेन्ट लोड गर्नुस