सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोजराज भट्टको ‘पैय्या गुडन लाग्या’ गीतलाई नन्दकृष्ण जोशीले आफ्नो भनेपछि विवादमा

२०७६ असोज १२, १२:२२ खबर संवाददाता

डेउडा गायक भोजराज भट्टको सबैभन्दा बढि चर्चामा रहेको गीत हो, ‘पैय्या गुडन लाग्या’। डेउडाका पारखीमाझ ‘पैय्या गुडन लाग्या’ र भोजराज भट्ट पर्याय जस्तै छ अहिले पनि। उनले २०४६ सालमा रेडियो नेपालको फुलवारी कार्यक्रममा उक्त गीत रेकर्ड गरेका थिए।

तर सोही गीतलाई सांगीतीक प्रतियोगिता लोक स्टारमा अर्का डेउडा गायक नन्दकृष्ण जोशीले आफ्नो भनेपछि अहिले लोक स्टार नै विवादमा तानिएको छ। लोक स्टारका प्रतियोगी सनि विश्वकर्माले उक्त ‘पैय्या गुडन लाग्या’ गीत गाएपछि गायक जोशीले उक्त गीत २०४१ सालमा रेडियो नेपालमा रेकर्ड गरेको बताएका थिए।

‘२०४१ सालमा रेडियो नेपालमा उक्त गीत मैले रेकर्ड स्वर सम्राट नारायण गोपाल निकै भावुक भएका थिए।’ लोक स्टारमा गायक जोशीले भनेका छन्। यता गायक भोजराज भट्टले भने जोशीले ‘पैय्या गुडन लाग्या’ गीतलाई आफ्नो भनेर ईतिहास बोकेको गीतलाई मार्ने कोसिस गरेको बताए।

‘३० बर्ष अगाडी २०४६ सालमा मैले रेकर्ड गरेको गीत हो पैय्या गुडन लाग्या, अहिले पनि कुनै पनि कार्यक्रममा प्रस्तुती दिदा म सोही गीतबाट सुरु गर्छु,’ गायक भट्टले भने, ‘कलाकारको सृजनालाई मार्ने प्रयास हुनु दुखद हो।’ नन्दकृष्ण जोशीले उक्त गीतलाई आफ्जनो भनेपछि अहिले सामाजिक सञ्जलामा पनि उनको विरोध हुन थालेको छ।

‘२०४५÷०४६ साल तिर डडेल्धुराको दमडामा केही समय गायक भट्टसंग बस्ने सौभाग्य मैले पनि पाएको थिए, त्यो बेला यो गीत कस्तो छ भनेर हामीलाई सुनाउनु भएको स्मरण ताजै छ। सबैले धेरै राम्रो छ भनी प्रोत्साहन गरेपछि उहाँले रेकर्ड गर्नुभयो। आज नन्दकृष्ण जोशीको कुरा सुन्दा जोशीप्रती अचम्म लागेको छ।’ फेसवुकमा किशोर भट्टले लेखेका छन्। 

‘रेडियो नेपालको स्टुडियोमा २०४६ सालमा रेकर्ड गरिएको यो गीत, म जन्मेको माटोको चिनारी हो, समकालीन समाजको यथार्थ हो,’ फेसवुकमै सुरेश जोशीले लेखेका छन्, ‘सुदूरपश्चिमका हरेकले यो गीत सुनेका छन्, बुझेका छन् अब बुझ्नेछन र सुन्नेछन, भोजराज भट्टप्रति नमन।’ यो विषयमा गायक जोशीलाई बुझ्न खोज्दा उनले फोन उठाएनन्। 

कमेन्ट लोड गर्नुस