सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जाहेरी दर्ता नगरेको भन्दै प्रहरी विरुद्ध उजुरी

२०७६ असोज ११, ०२:४४ खबर संवाददाता

बैतडीमा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय र सरकारी वकिलको कार्यालय उजुरी परेको छ। मेलौली नगरपालिकाका वडा नम्बर २ सलेनाका दिपेन्द्र बहादुर चन्दले साविकको जिल्ला वन कार्यालय बैतडीका प्रमुख कृष्ण प्रसाद ढकाल र निमित्त कार्यालय प्रमुख शेर सिंह धामी विरुद्ध किर्ते गरेको भन्दै दिएको जाहेरी दर्ता नगरेपछि प्रहरी विरुद्ध उजुरी दिएका हुन्।

चन्दले वनका प्रमुख ढकाल र निमित्त प्रमुख विरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि प्रशासन र सरकारी वकिल कार्यालयमा प्रहरी विरुद्ध मुद्दा दर्ता गरिएको बताए। उनले प्रहरीले जाहेरी दर्ता र दरपीट नगरेपछि प्रमुख जिल्ला अधिकारी र सरकारी वकिलको कार्यालयमा मुद्दा दिएको बताए। चन्दले शुक्रबार हुलाक मार्फत सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयमा प्रहरी विरुद्ध उजुरी हालिएको बताए। 

यता बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेले चन्दले यसअघि पनि सोही प्रकृतिको जाहेरी दर्ता गरेकोमा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको बताए। उनले यसअघि पनि सोही प्रकृतिको मुद्दा परेपछि सरकारी वकिलसंग सल्लाह गरी अघि बढाउने उद्देश्यले जाहेरी तत्काल दर्ता गर्न नसकिएको बताए। ‘सरकारी वकिल जिल्ला फर्किने बितिकै मुद्दालाई अगाडी बढाउँछौँ।’प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेले भने।

कमेन्ट लोड गर्नुस