सुदूर नेपाललाई विश्वसँग जोड्दै

अग्रिम बुकिङमा बिचौलीया सक्रिय, धनगढीबाट बसको टिकट पाउनै मुस्किल

२०७६ असोज १०, ०३:१२ कमल सावद

अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ का लोकराज नाथलाई शुक्रवार अछाम जानु थियो। धनगढी बसपार्कमा बिहिवार दिउसो टिकट खरिदका लागि पुगेका नाथले टिकट पाएनन्।

‘धनगढी बसपार्कमा रहेका सबै यातायात प्रालिका काउण्टरहरुमा धाए,’ नाथले भने, ‘तर बसको टिकट नै पाईएन्।’ उनलाई दुई जनाका लागि बसको टिकट चाहिएको थियो। टिकट नपाएपछि नाथले डोटीसम्म जाने निर्णय गरे तर डोटीका लागि पनि बसमा सिट सहितको टिकट पाइएन्। उनी बसको क्याविनमा बसेर जान तयार भए। उनी भन्छन, ‘मगलसेन जानु थियो, बसको टिकट पाइएन्। डोटी सम्म जान्छु र डोटीबाट केहि विकल्प खोज्नु पर्ला।’

नाथ जस्तै डोटीको पुर्वीचौकीका दिपक कठायतले पनि टिकट पाएनन्।। असोज १७ गतेका लागि बसको टिकट खरिदका लागि बुधबार विहान १० बजे धनगढी बसपार्कमा पुगेका उनले दिउसो २ बजे सम्म पनि टिकट पाएनन्। ‘बसको टिकट पाइएन्। अब विकल्प खोज्नुपर्ने देखियो। बस थप गरियो भने, बसमा जानुपर्ला नत्र जीपहरुमा जानुपर्ला।’ उनले भने। मंगलवारदेखि सुरु भएको अग्रिम टिकट बुकिङ सकिएको भन्दै यातायात प्रालिले यात्रुहरुलाई फर्काउने गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालि र रिभरसाईड यातायात प्रालिले अग्रिम टिकट विक्रि गरिरहेका छन्। तर मालिका र खप्तड मालिकाले भने अहिले सम्म अग्रिम टिकट बुकिङ समेत खुला गरेका छैनन्। रिभरसाईड यातायात प्रालिका अध्यक्ष धिरज शाहीले अग्रिम टिकट बुकिङ सकिएको बताए।

‘बसको अग्रिम बुकिङ दुई दिनमा सकियो। यात्रुहरुको संख्या अत्याधिक भएर होला। हामीले बसको संख्था थप गरेका थियौ।’ उनले भने। यातायात प्रालिहरुले दुई दिनमा अग्रिम टिकट विक्रि सकिएको भन्न थालेपछि बिचौलिया हावी भएको आशंका गर्न थालिएको छ। यातायात प्रालिले बिचौलियाहरुलाई टिकट विक्रि गर्ने र उनीहरुले बढि मुल्यमा यात्रुलाई विक्रि गर्ने गरेको आरोप लागेको हो।

तर सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहले यस्तो भेटिए कारबाही गर्ने बताए। ‘अन्य यातायात प्रालिहरुले अग्रिम टिकट विक्रि गरेका छैनन्,’ उनले भने, ‘हाम्रो प्रालिको मात्र टिकट विक्रि भएका कारण समस्या भएको हो।’ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट सात पहाडी जिल्लाका लागि अग्रिम बुकिङ खुला गरिएपनि टिकट पाउनै मुस्किल भएको गुनासो बढ्दै गएको छ। एक साता पछाडीका लागि अग्रिम बुकिङ गर्न खोज्दा पनि टिकट नपाएको गुनासो यात्रुहरुको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस