सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरे फेदीका खोलामा पनि ठेक्का

२०७६ असोज ९, ११:३६ कमल सावद

कैलालीमा चुरे क्षेत्रमा रहेका नदी-खोलाबाट समेत नदीजन्य पदार्थ संकलन र पैठारी गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। जिल्लाको चुरे गाउँपालिकाले चुरे संरक्षण योजना ल्याउनुपर्ने बेला नदीजन्य पदार्थ संकलन र पैठारीका लागि ठेक्का सम्झौता गरेको हो। कानूनी रुपमा पनि चुरे क्षेत्रमा पर्ने नदी÷खोलाहरुबाट नदीजन्य पदार्थ संकलन गर्न नपाउने हो। तर पनि गाउँपालिकाले संकलनका लागि ठेक्का सम्झौता नै गरेको हो।

चुरे गाँउपालिकाले गत वर्ष नदीजन्य पदार्थको संकलन र पैठारीका लागि भन्दै गरेको ठेक्का सम्झौता राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा उजुरी परेपछि खारेज भएको थियो। गाउँपालिकाले वडा नम्बर ५ को बालुवा खोला, टाँक खोला तथा काली खोला लगायतका खोलाहरुबाट नदीजन्य पदार्थ संकलनका लागि गरिएको ठेक्का सम्झौता खारेज भएपनि यसवर्ष फेरी चुरे फेदमा रहेका खोलाको नदीजन्य पदार्थका लागि ठेक्का सम्झौता गरिएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ५५ लाखमा चार खोलाको नदिजन्य पदार्थ निकासीका लागि टेण्डर सम्झौता गरेको चुरे गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बसन्तबहादुर बोहराले बताए। ‘चुरे फेदीका खोलाहरुबाट ढुङ्गा, बालुवा तथा गिट्टि निकासीका लागि ठेक्का सम्झौता गरिएको हो,’ उनले भने, ‘चार–पाँच खोलाको संयुक्त रुपमा ५५ लाखमा ठेक्का दिइएको हो। गत वर्षको वातावरणीय प्रभाव मुल्याङकनका आधारमा ठेक्का सम्झौता भएको हो।’

चुरे क्षेत्रमा रहेका नदी तथा खोलाबाट नदीजन्य पदार्थ संकलन र पैठारी गर्न नपाउने भएपनि चुरे गाउँपालिकाले भने ठेक्का सम्झौता गर्दै संकलनको तयारी थालेपछि भु–क्षय, बाढि पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। तराईका स्थानीय तहले पनि विना वातावरणीय प्रभाव मुल्याङकन चुरे क्षेत्रका नदिबाट ढुङ्गा बालुवा, गिट्टि उत्खननका लागि ठेक्का गरेका छन्। त्यसैको सिको गरेको दावी चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरको छ।

‘तराईका स्थानीय तहहरुले बिना वातावरणीय प्रभाव मुल्याङकन हाम्रो क्षेत्रका नदीबाट ढुङ्गा–बालुवा निकासी गर्दै आएका छन्,’ उनले भने, ‘हामीले हेरेर मात्र बस्ने ? नदीको ढुङ्गा–बालुवा निकासी पहिले पनि हुदै आएको छ, बरु हामी वातावरणलाई प्रभाव नगर्ने गरि नदीजन्य पदार्थ निकासी गर्छौ।’ चुरे फेदीका खोलामा ढुङ्गा र बालुवा निकासी गरे चुरे संकटमा पर्ने विज्ञहरु बताउछन्। कान्छो पहाडका रुपमा चिनिने चुरेको भु–भाग कमजोर भएकोले फेदीमा ढुङ्गा–बालुवा निकासी गर्न नहुने बताईएको छ।

चुरे फेदीबाट नदिजन्य पदार्थ निकासी गरे चुरेमा पहिरोको जोखिम हुने राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य विदुर भारतीले बताए। ‘चुरे पहाडबाट आएर जम्मा भएको नदीजन्य पदार्थ निकासी गर्दा खासै असर पर्दन्, तर चुरे फेदीमा नै गएर ढुङ्गा–बालुवा निकासी गरे चुरे संकटमा पर्न सक्छ।’ उनले भने। चुरे फेदी पानी रिचार्ज गर्ने क्षेत्र मानिन्छ। नदिजन्य पदार्थको दोहोन भए पानीका स्रोतहरु पनि सुक्दै जान्छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस