सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा तीन छोरी जन्माएकी आमा र शिशुको सेनाको हेलीकोप्टर मार्फत उद्धार

२०७६ असोज ७, ०३:१० नरेन्द्र कार्की

दार्चुलामा तीन छोरीलाई जन्म दिएकी आमा र शिशुको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्दार गरिएको छ। तीन छोरीलाई जन्म दिने जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुहरुलाई आज उपचारको लागि हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ। आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलीकप्टर मार्फत नेपालगञ्ज पठाईएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए। धामी निर्धारित समय अगावै प्रसुती भएकी हुन्।

कात्र्तिकमा प्रसुती हुनुपर्ने धामीले एक महिना अघि शिशु जन्माएकी हुन्। धामीका एक, छ र अर्को तीन वर्षका छोरी छन्। नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो। तीनै छोरीको तौल औसतमा कम भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको हो। पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो २०० ग्राम मात्र तौल रहेको स्वास्थ्य चौकीले जनाएको छ। 

औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ। कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा परेको हो। दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा थप उपचारमा समस्या भएको हो। सोमबार नै एयरएम्बुलेन्स मार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भएपनि कागजी प्रक्रियामा ढिलाई हुँदा मंगलबार बिहान मात्र उद्धार गरिएको हो। 


  

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस