सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको आत्महत्या दुरुत्साहन मुद्दा लागेका कलेललाई आत्महत्या गर्न कसले बाध्य बनायो ?

दुरुत्साहन मुद्दा कतिको जायज ?

२०७६ असोज ७, ०१:२१ जनक विष्ट

दुरुत्साहन मुद्दा लागेपछि छोरीको हत्या गर्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का राम बहादुर कलेलले आत्महत्या प्रकरणपछि दुरुत्साहन सम्बन्धीको मुद्दामा नयाँ बहस सुरु भएको छ। श्रीमतीको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट सफाई पाएका कलेलले तीन वर्षीय छोरी अनुष्कालाई विष खुवाएर आफुले पनि आत्महत्या गरेपछि दुरुत्साहन सम्बन्धी मुद्दा कतिको जायज भन्ने विषयमा नयाँ बहस सिर्जना भएको हो। खासगरी आत्महत्या दुरुत्साहन सम्बन्धी कानूनले गरेको उक्त व्यवस्थाको ठिक वा बेठिक अथवा त्यसको प्रयोग कसरी हुनुपथ्र्यो र अहिले कसरी भईरहेको छ भन्ने विषयमा नयाँ बहस सुरु भएको देखिन्छ।

कैलाली प्रहरीका अनुसार गत बैशाख १६ गते कलेलकी श्रीमती सरिताले कोठामै झुण्डिएर आत्महत्या गरिन्। माईती पक्षले रामबहादुर र सरिताबिच विगतमा पनि झै–झगडा भईरहने गरेको भन्दै उनको मृत्यु कारण श्रीमान नै भएको दावी गर्दै प्रहरी समक्ष किटानी जाहेरी दिए। किटानी जाहेरी परेपछि प्रहरीले रामबहादुरले श्रीमती सरितालाई आत्महत्या गर्न बाध्य बनाएको दावी सहित सरकारी वकिल कार्यालयमा अनुसन्धान फाईल बुझायो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनकै आधारमा जिल्ला सरकारी वकिलले कलेललाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा सजायको मागदावी सहित अदालतमा मुद्दा दर्ता ग¥यो। जिल्ला अदालत कैलालीले मुद्दाको सुनवाई गर्दै गत जेठ २६ मा पुर्पक्षका लागि कलेललाई कारागार चलान गर्न आदेश दियो। तर अदालतले गत साउन २२ मा गरेको उक्त मुद्दाको अन्तीम फैसला गर्दै उनलाई निर्दोेष ठहर गर्दै छाड्न आदेश दियो। साउन २२ मै कारागारबाट छुटेका कलेलले आईतवार भने छोरी सहित आत्महत्या गरे।

यसअघि झुण्डिएर आत्महत्या गरेकी श्रीमतीलाई मर्न बाध्य बनाएको भन्दै परेको दुरुत्साहन सम्बन्धी मुद्दामा सफाई पाएका कलेललाई आत्महत्या गर्न कसले बाध्य बनायो ? के उनी सोही मुद्दाकै कारण समाजमा आफू अपहेलित हुनु पुगेको कुराले छोरीको हत्या गर्दै आत्महत्या गर्न बाध्य भए ? अथवा कुनै अन्य कारण थिए ? यी र यस्तै धेरै प्रश्न उब्जाईदिएको छ आत्महत्याकै कारण कैलालीका रामबहादुर कलेलको परिवार सखाप भएको प्रकरणले।

सम्बन्धीत निकाय अहिले नै यी प्रश्नहरुको जवाफ दिने अवस्थामा छैन्। हुन त कलेलले दुरुत्साहन मुद्धामा सफाई पाएपछि कान्छी पत्नी पनि भित्र्याएको प्रहरीले जनाएको छ। गौरीगंगा नगरपालिकाको बडैपुर बजारमा कस्मेटिक पसल सञ्चालन गरेका कलेलले कारागारबाट छुटेपछि एक महिनाअघि मात्र कान्छी पत्नी भित्त्राएको र उनीसंग पनि सम्बन्ध जम्न नसकेपछि दिनहुँ झैझगडा हुने गरेको प्रहरी बताउँछ। कलेलले छोरीको हत्या र आफ्नो आत्महत्या पूर्व लेखेको सुसाईट नोट पनि प्रहरीले फेला पारेको छ।

सुसाईट नोटमा कलेलले आफूलाई लागेको दुरुत्साहन मुद्दासंग सम्बन्धीत कुरा उल्लेख नगरेको प्रहरी स्रोत बताउँछ। प्रहरीका अनुसार कलेलले सुसाईट नोटमा घर परिवार आफन्त, इष्टमित्र र चिनेजानेका सबैसंग क्षमा माग्दै लेखेका छन्,‘आमा तपाईले एउटा आमाको कर्तव्य निभाउँदा मैले एउटा छोराले निभाउनुपर्ने कर्तव्य निभाउन सकेन। मलाई माफ गर्नुहोला,  मेरो भाग्यमा यस्तै हुनु लेखेको रहेछ, सम्पूर्ण आफन्त, इष्टमित्रसंग क्षमा माग्न चाहान्छु।’उनी अगाडी लेखेका छन्,‘मलाई केही भईहाल्यो भने, मैले पाउने अंशबाट मेरो क्रण तिरिदिनुहोला, समाज र प्रहरीलाई पनि अनुरोध छ।’

प्रहरी स्रोतका अनुसार उनले रकम लिनुदिनुपर्ने केही व्यक्तिको नाम समेत सुसाईट नोटमा उल्लेख गरेका छन्। कैलाली प्रहरीले भने यस विषयमा आधिकारिक धारण दिएको छैन्। तर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत, कलेल आत्महत्या प्रकरणमा प्रहरी गम्भीर बनेको बताउँछन्। बस्नेतले घटनाको अनुसन्धान भईरहेको बताउँदै कलेलको आत्महत्याको कारण श्रीमतीको दुरुत्साहन मुद्दा, आर्थिक लेनदेन वा अन्य के हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए।

उनले अरुका कारण कलेलले आत्महत्या गरेको देखिएमा प्रहरीले नै मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अघि बढाउने दिनेश खबरलाई बताए। बस्नेतले भने,‘हामी घटनाको अनुसन्धान गरिरहेकाछौँ, कलेललाई कसैले आत्महत्या गर्न बाध्य पारेको देखिए किटानी जाहेरी नपरेपनि हामी मुद्दा दर्ता गरी कानून प्रक्रियामा जान्छौँ।’ कलेल विरुद्ध परेको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाको अभियोजन गरेका जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका प्रमुख न्यायधिवक्ता लक्ष्मी किशोर शर्माले कानूनको गलत प्रयोग हुन थालेको बताए।

उनले दुरुत्साहन सम्बन्धीको कानूनको दुरुपयोग बढेकाले हेरफेर गर्न आवश्यक रहेको बताए। तत्कालीन समयमा कलेल विरुद्ध परेको किटानी जाहेरी र मुद्दामा बुझिएका व्यक्तिहरुको बयानका आधारमा अदालतमा मुद्दा दर्ता गरिएको स्मरण गर्दै श्रेष्ठले कानूनमै सुधार गर्न आवश्यक रहेको देखिएको बताए। श्रेष्ठले कानूनले आत्महत्यालाई पनि अपराधका रुपमा लिए पनि गलत प्रयोग हुँदा निर्दोष फस्ने समस्या रहेको उल्लेख गरे।

कानून व्यवसायीहरुले पनि श्रीमतीको आत्महत्यापछि रामबहादुर कलेलले छोरीको हत्या गर्दै आफूले पनि आत्महत्या गर्नुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने मत व्यक्त गरेका छन्। जिल्ला बार एसोसिएसन कैलालीका अध्यक्ष शिव केसीले तत्काल हेर्दा कलेलले हुदै नभएको मुद्दा लागेपछि सफाई पाएपनि डिप्रेसनमा गएर आत्महत्या गरेको देखिएको बताए। केसीले कलेलले आफूले गर्दै नगरेको गल्तीका कारण अनावश्यक दुःख पाए, समाजमा कलंकीत भए सोचेर तत्काललाई जाहेरीवालाकै कारण आत्महत्या गरेको देखिदा उनीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने जनाए।

‘सत्य मान्छे समाजमा बाच्नु धिक्कार रहेछ भन्ने लागेर कलेलले छोरीलाई विष खुवाएर आत्महत्या गरेको हुनसक्छन्।’ केसीले भने।  दुरुत्साहन सम्बन्धी कानून प्रयोगमा आएपछि लहरो तान्दा पहरो खस्न थालेको महसुस भएको उनी बताउँछन्। तर राज्यले कलेल आत्महत्या प्रकरणलाई समान्य रुपमा लिनु नहुने केसीको भनाई छ। केसीले भने,‘दुरुत्साहन सम्बन्धी कानूनलाई मजबुत  ढंगले लैजाने भए राज्यले गम्भीर भएर यो केसलाई हेर्नुपर्छ, यतिकै टुङ्गियो भने केही हुदैन् अनावश्यक नागरिकले मात्र दुःख पाउँछन्। दुरुत्साहन सम्बन्धी नयाँ कानूनको अभ्यासका क्रममा कुनै व्यक्तिको वंश नै सखाप हुनेगरी भएको यो घटना नेपालकै पहिलो भएको अधिकारीहरुले बताउँदै आएका छन्।

श्रीमतीको आत्महत्याको मुद्दामा सफाई पाएर लगतै छोरीको समेत हत्या गरी आफूले पनि आत्महत्या गर्नु गम्भीर कुरा भएकाले राज्यले पनि सोही अनुसार अनुसन्धान थाल्नुपर्ने सुझाव कानून विदहरुको छ। कलेलले माईती पक्षले दिएको मुद्दाकै कारण आफू समाजमा कलंकित भएको भन्दै आत्महत्या गरेका हुन् भने जाहेरी दिनेहरुलाई पनि दुरुत्साहन मुद्दा लगाउनुपर्ने आवाज उठिरहेको छ। तर आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दालाई हलुका रुपमा लिन नहुने तर्कहरु पनि आएका छन्।

दुरुत्साहन सम्बन्धी कानूनको गलत प्रयोग बढ्दै गएमा यस्ता प्रकृतिका घटना दोहोरिन सक्नेतर्फ मुद्दाको अनुसन्धान गर्ने प्रहरी अधिकारी, अभियोजनकर्ता र अदालत गम्भीर बन्नुपर्ने मत अधिकारीहरुको छ। मुलुकी अपराध संहितामा लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै गएको छ। एक बर्षको अवधीमा कैलालीमा १४ वटा मुद्दा दर्ता भएका छन्। मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस