सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीको कमाउ धन्दा : १७ सयको मिटर चार हजारमा बिक्रि

२०७६ असोज ७, १०:०९ जनक विष्ट

दुई महिना पहिले गोदावरी नगरपालिका वडा नम्बर २ का लोग बहादुर खड्का विद्युतको मिटरका लागी भन्दै नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत रहेको अत्तरिया नो लाईट सेवाको कार्यालय पुगे। ५० रुपैँयाको आवेदन फारम भर्दै अन्य कागजात समेत पेश गरेपछि खड्कालाई नो लाईट सेवाले तोकिएको शुल्कमा भन्दा झण्डै दोब्बर असुलेर मिटर उपलब्ध गरायो। नो लाईट सेवाका एकजना कर्मचारीले खड्कालाई मिटर दिदै ३५ सय रुपैँया लिए तर रकम तिरेको  नगदी रसिद भने उपलब्ध गराएनन्।

मिटरको निर्धारित दररेट थाहा नपाएका खड्काले १७ सय पर्ने मिटरलाई झण्डै दोब्बर ३५ सय तिरेको कुरा अहिले मात्र थाहा पाएका छन्। ‘नो लाईट कार्यालयमा गएर बुझ्दा कर्मचारीले मिटरको तीन हजार पाँच सय पर्छ भने।’ खड्काले दिनेश खबरलाई भने, ‘मिटरको कती रुपैँया पर्छ भन्ने कुरा मलाई पनि थाहा थिएन्, कर्मचारीले ३५ सय पर्छ भनेपछि तिरे। मिटर जडान गर्दा थप पाँच सय रुपैँया शुल्क लाग्यो।’ मिटरको ३५ सय तिरेपनि नगदी रसिद भने कर्मचारीले नदिएको उनले गुनासो गरे।

 

                                                                       अत्तरिया नो लाईट प्रमुख भट्ट 

‘मिटर पाईहालियो अब रसिद के चाहिएला? भनेर लिएन उनले भने। तर कर्मचारीले आफै भएर रसिद उपलब्ध गराएनन्।’ तर निर्धारित दररेट अनुसार घरवत्तीको मिटरको भ्याट बाहेक एक हजार सात १२ रुपैँया ३९ पैँसा छ। त्यसमा एक सय रुपैँया सेवा शुल्क र १३ प्रतिशत भ्याट जोड्दा प्रतिमिटरको दुई हजार ४८ रुपैँया पर्नेमा विद्युत प्राधिकरण अत्तरिया नो लाईटका कर्मचारीले ग्राहकबाट १५ सय बढि रकम असुल्दै घरबत्तीको मिटरको ३५ सय देखि चार हजार सम्म शुल्क लिईरहेका छन्।

खड्का मात्र नभएर अन्य विभिन्न उद्योग र कृषि तथा सिँचाई गर्नेहरुबाट समेत नो लाईट शाखाका कर्मचारीले दोब्बर तेब्बर बढि शुल्क लिने गरेका छन् तर नगदी रसिद भने नदिने गरेको भेटिएको छ। कृषि मिटरको १७ सय १२ रुपैया शुल्क निर्धारण गरिएकोमा सात सय सेवा शुल्क र १३ प्रतिशत भ्याट सहित दुई हजार सात सय २७ रुपैया पर्छ तर अत्तरिया नो लाईट शाखाले चार हजार देखि पाँच हजार सम्म असुल्ने गरेको छ।

यद्यपी ग्राहकलाई भने नगदी रसिद दिने गरिएको छैन्। तीन महिना पहिले मात्र कृषि मिटर लिएका  गोदावरी नगरपालिका लोकराज जोशीले विचौलिया मार्फत नो लाईट कार्यालयबाट मिटर ल्याए तर उनलाई नगदी रसिद दिईएन्। अहिले मिटरको यति नै तिरेको हुँ भन्ने कुरा थाहा नभएपनि जोशीले पाँच हजार सम्म दिएको बताएका छन्। ‘त्यती बेला मिटरको यति नै पर्छ भन्ने मलाई थाहा थिएन्, एकजना चिनेकै व्यक्तिले विद्युतबाट निकालेर ल्याईदिए चार हजार हो की पाँच हजार दिएको हुँ ठ्याक्कै कति दिए अहिले याद भएन।’जोशीले दिनेश खबरसंग दुःख व्यक्त गर्दै भने, ‘बेकारमा त्यती धेरै पैँसा खाईदिएछ के गर्ने होला न रसिद नै राखियो।’

यसरी ग्राहकहरुबाट निर्धारित दररेट भन्दा दोब्बर बढि रकम लिएर विद्युत मिटर खरिद गर्नेहरुमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष समेत रहेको अत्तरिया नो लाईट सेवाका निमित्त प्रमुख कैलाश दत्त भट्ट र स्टोर किपर दुर्गा जोशी रहेको आरोप लागेको छ। स्रोतका अनुसार उनीहरुले विचौलिया मार्फत पनि मिटर बिक्रि गर्दै आएका छन् भने कार्यालय आउने ग्राहकसंग दुवैजनाले बार्गेनिङ गर्दै आएका छन्।

दुवैजना माथिको यस्तो आरोप लागेपछि अत्तरिया नो लाईट सेवाको कार्यालयमै पुगेर प्रतिक्रिया लिदा प्रमुख भट्टले उक्त विषयमा धारणा नदिने जनाए भने स्टोर किपर जोशी कार्यालयमा भेटिएनन्। यता विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले भने कुनै पनि बहानामा मिटरमा निर्धारित दररेट भन्दा बढि शुल्क लिन नपाउने बताएका छन्।

चौधरी ग्राहकलाई अनिवार्य नगदी रसिद पनि दिनुपर्ने बताउँदै कानून विपरीत काम गर्ने कर्मचारीलाई कारवाहीको दायरा ल्याउईने उल्लेख गरे। ‘तोकिएको भन्दा बढि शुल्क लिएको गुनासो आएमा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याएरै छोड्छु’ चौधरीले भने।  नो लाईट सेवा अत्तरियाले भदौ महिनामा मात्र घरबत्तीका ९४ वटा मिटर बिक्रि वितरण गरिएको जनाएको छ।

ती मिटरबाट सेवा शुल्क र भ्याट समेत गरी एक लाख ९२ हजार राजश्व संकलन गर्दा सोही हाराहारीमा कर्मचारीले असुलेको दावी गरिएको छ तर सेवाको रिर्पोटमा भने ग्राहकबाट निर्धारित दररेट अनुसारकै शुल्क लिएको देखाईएको छ। यस्तै उद्योगहरुलाई ६ वटा थ्री फेज मिटर बिक्रि वितरणमा एक लाख २७ हजार र विभिन्न संघसंस्थालाई वितरण गरिएका ७ वटा मिटरबाट १९ हजार ८२ रुपैया राजस्व संकलन गरिएको छ।  
 
 
   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस