सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरैयाबाट धनगढीको धुर्जन्ना शिविरमा सारिएका सुकुम्बासीको बेहाल

२०७६ असोज ३, ०२:३७ कमल सावद

गत वर्ष असार २२ मा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैया शिविरमा बसोबास गर्दै आएका ६२ सुकुम्बासी परिवारलाई धनगढीको धुर्जन्नामा सारियो। हरैया शिविरको जग्गा खरिद गरेको सौभाग्य रियल स्टेट एण्ड हाउजीङ प्रालीले उचित व्यवस्थापन गर्ने आश्वासन दिदै सुकुम्बासीलाई त्यहाँबाट धुर्जन्ना सारेको हो। तर उनीहरुको गतिलो व्यवस्थापन नहुँदा समस्या भोगिरहेका छन्।

वैज्ञानीक भूमि सुधारको नारा लगाउने नेताहरु सत्तामा पुगेपनि सुकुम्वासीको समस्या भने झनै बढेको गुनासो धुर्जन्ना शिविरमा बस्दै आएकी धनादेवी साउँदले गरिन्। सरकारले सुकुम्बासीलाई नागरिकको व्यवहार नगरेको उनको गुनासो छ। ‘एक व्यक्तिले जमिन खरिद गरेर व्यवस्थापनको प्रयास गरेपनि सरकारबाट भने कुनै सहयोग पाएका छैनौँ। जनयुद्धको दुःख पाएका सुकुम्बासीहरुलाई सरकारले कुनै वास्ता नै गरेको छैन्,’उनले भनिन्।  ‘खानका लागि गाँस छैन्, कही रोजगारी छैन्। सरकारले दुःख मात्र दिएको छ, सहयोग कहिले पनि गरेको छैन्।’ उनीहरुलाई १४ महिना पहिले मात्र त्यहाँ सारिएको हो। तर व्यवस्थापन नहुँदा दैनिकी विताउन पनि समस्या भएको गुनासो गरिएको छ।

जग्गा खरिद गरी घर बनाईदिने आश्वासन दिएको सौभाग्य रियल स्टेट एण्ड हाउजीङ प्रालीले पनि वास्ता नगरेको गुनासो गरिएको छ। घर निर्माणको कामको थालनी नभएपछि चुईने छानोमा वर्षातमा रात काटाएको धुर्जन्नाका सुकुम्बासीलाई साँझ–विहानको छाक टार्न पनि समस्या भएको हिरा बादीले बताईन्। हरैयामा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउने चलखेत सुरु भएपछि २०७५ सालमा प्रतिनिधिहरुलाई शिविरमा बोलाएको भन्दै उनले भनीन् ‘२०७५ सालमा शिविरमा दलाल घुसेपछि हामीले पूर्व मन्त्री लेखराज भट्टलाई पनि बोलाएका थियौ। उहाँले व्यक्तीको जमिन भएकाले व्यवस्थापन भए धुर्जन्ना जान तयार हुन भन्नु भयो।  सरकारले पनि सुकुम्बासीको व्यवस्थापनका लागि काम गर्ने उहाँले बताउनुभएको थियो। तर अहिले सम्म भएको छैन्।

सरकारबाट कुनै सहयोग पाएका छैनौ।’६२ परिवारलाई बसोबासका लागि घर, प्रति परिवार एक/एक कठ्ठा जमिन, विद्युत र खानेपानीको व्यवस्थापन गर्ने कम्पनीको मौखिक प्रतिवद्धता थियो। ५९ कट्टा जमिन खरिद गरिएको छ। तर अन्य कुनै संरचना निर्माण भएको छैन्। सौभाग्य रियल स्टेट एण्ड हाउजीङ प्रालीले हरैयाको जमिन खरिद गरेपछि नेकपाका नेताहरु पनि शिविर खाली गर्न सक्रिय भएका थिए। १२ वर्ष हरैया शिविरमा बसोबास गर्दै आएका थियौ। शिविरका स्थानीय गीता चौधरीले भनिन् ‘सारिएको डेढ वर्ष सम्म पनि अवस्था उस्तै छ। हरैयाबाट धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुर्जन्ना सारिएपछि  दैनिक मजदुरीको पनि समस्या हामीलाई समस्या भएको छ।’

गत वर्षको असार २२ गते स्थानान्तरण गर्दा भएको सहमती अनुसारको व्यवस्थापन नभएको भन्दै उनीहरुले आपत्ती जनाएका छन्। नेताहरुसंगै कम्पनीले पनि ठगेको उनीहरु बताउँन थालेका छन्। हरैया शिविरमा हुँदा सुकुम्वासी परिवारका पुरुष तथा महिला रोजगारीका क्रममा नजिकैको अत्तरिया बजारमा धाउने गर्थे। हरैया शिविरबाट स्थानान्तरण गराउँदा सुकम्वासी परिवारलाई दैनिक गुजरा गर्न अहिले समस्या छ। नजिकैको नदी तटबन्धमा गरेको कामको पनि रकम नपाएको गुनासो उनीहरुको छ। वैज्ञानीक भूमि सुधारको नारा भजाएका नेताहरु सरकारमा भएपनि आफ्नो हालत उस्तै रहेको शिविरकी अध्यक्ष हिरा बोहराले बताईन्। मौखिक व्यवस्थापनको आश्वासन दिएको कम्पनीले अहिले दशैँपछि व्यवस्थापनको बाँकी काम गर्ने आश्वासन दिन थालेको बताईन्। तर अहिले नेताहरुले फोन पनि उठाउन छाडेका उनको गुनासो छ। 

यता कम्पनीका सदस्य शंकर कार्कीले उनीहरुको काम माग्ने मात्र भएको बताए। मागेर खान पल्किएकाहरु काम गर्दैनन्। उनले भने, ‘अरुले दिएको मात्र कहिले सम्म हुन्छ। काम  त आफैले गर्नु पर्ने हो तर गर्दैनन्। जहिले पनि गुनासो मात्र गर्न जानेका छन्।’ हरैयामा बसोबास गर्दै आएका सुकुम्बासीलाई स्थानान्तरण गर्न धेरै रकम खर्च भएको उनले बताए। अरुको लुटेर खान पल्किएकाहरुले दुःख दिएको उनको भनाई थियो। 
 ९२ परिवारलाई धुर्जनामा सारिएको दावी गरिएपनि अहिले सम्म ६२ परिवार मात्र धुर्जन्नामा बसोबास गरिरहेका छन्। गोदावरीको हरैया शिविरका सुकुम्बासीलाई अहिले हटाइएको छ। तत्कालीन माओवादीले २०६१ सालमा हरैयामा सुकुम्बासी शिविरमा राखेको थियो। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस