सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड असुली, सञ्चालक फरार

२०७६ असोज ३, ०१:०६ नवराज पनेरु

धनगढीमा बर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीले फेरी विद्यार्थीलाई ठगेको छ। फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको हो।

कलेजले गत बर्ष १७ र यो बर्ष २९ जना विद्यार्थीलाई ठगेको हो। प्राविधिक विषय पढाउने कलेज भन्दै गत बर्ष १७ जना विद्यार्थी भर्ना भएका थिए। कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै उनीहरुबाट एक लाखका दरले १७ लाख रकम संकलन गरिएको थियो। यसै भदौमा नयाँ भर्ना भएका थप ३७ जनाबाट ६५ हजारका दरले १९ लाख संकलन गरिएको छ भने १० लाख रकम संकलन गर्ने तयारीमा सञ्चालक राजाराम चौधरी थिए। 

‘कृषि जेटिए र भेटनरी पढ्ने विद्यार्थीले भदौ ४ गतेदेखि १४ गते सम्म परिक्षा दिईसकेका छन्,’ सोही कलेजमा भर्ना भएका बझाङ थलराका मोहन जोशीले भने, ‘हाम्रो अहिले सम्म परिक्षा सञ्चालन भएको छैन्, अहिले आएर सञ्चालक फरार भएका छन्।’ परिक्षा नै सञ्चालन नभएपछि एकातिर डेढ बर्ष खेर गएको र अर्को तर्फ एक लाख पनि गुमेको गुनासो उनको छ।

सोही कलेजकी विद्यार्थी धनगढीक शान्तिनगरकी सुलोचना कार्कीले पनि परिक्षा नै सञ्चालन नगरी सञ्चालक फरार भएपछि आफुहरुको भविष्य अन्यौलमा परेको गुनासो गरिन्। ठुलो लगानी गरेर भर्ना भएको कलेज फर्जी निस्किएपछि विद्यार्थी अन्योलमा छन्।

‘सुरुमै ६५ हजार दरले पैँशा लिइएको छ,’ यसै भदौमा भर्ना भएकी कैलाली चौमलाकी महेश्वरी ओझले भनिन्, ‘भर्ना गर्दा हामीलाई नक्कली कलेज भन्ने जानकारी नै भएन, अहिले गत बर्षका विद्यार्थीहरुले भनेपछि थाह भएको छ, पैँशा फिर्ता माग्न जाँदा सञ्चालक नै फरार भएका छन्।’ अहिले आएर कलेजमा कृषि जेटिए, भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्धकार भएको उनले बताइन्। 

यता प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद सुदूरपश्चिम प्रदेश कार्यालयले भने धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीलाई जेटिए र भेटनरी पढाउने अधिकारी नभएको जनाएको छ। ‘कलेजका विद्यार्थीहरु ठगिए भन्दै कार्यालयमा आएका थिए,’ कार्यालयका सुचना अधिकारी देववहादुर धामीले भने, ‘उक्त कलेजलाई ६ महिने तालिम दिने मात्रै अधिकार थियो, जेटिए र भेटनरी पढाउने भन्दै विद्यार्थीलाई ठगेको देखियो।’

सञ्चालकलाई बोलाएर विद्यार्थीको पैँशा फिर्ता गर्न पनि आग्रह गरेको उनले बताए। कैलाली उदासीपुरका राजाराम चौधरीले सिटिइभिटीको सम्बन्धन लिएको भन्दै २०७२ सालदेखि नै उक्त कलेज चलाएर ठगि गर्दै आएका छन्। अहिले विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन् भने उनी विरुद्ध उजुरी समेत दिएका छन्।

तर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए। तर धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको हो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस