सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गको हसनपुर–स्याउले खण्डमा आवजावत गर्नै मुस्कील

२०७६ असोज ३, ११:२३ कमल सावद

सुदूरपश्चिमको सम्बृद्धिसंग जोडिएको धनगढी–दिपायल द्रुतमार्गको हसनपुर–स्याउले सडक खण्डमा परेका खाल्डा मर्मत गर्न कुनै निकायले चाँसो नदिएको स्थानीयले गुनासो गरेका छन्। विद्यार्थी, स्थानीय तथा सो सडक भएर ओहोर–दोहोर गर्नेलाई दुर्घटनाको जोखिम छ। गोदावरी नगरपालिका वडा नम्बर ७, ८ लगायतको क्षेत्रका जनताको धनगढीसंग जोड्न मुख्य सडक नै धनगढी–स्याउले सडक हो। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणधिन अवस्थामा रहेकाले धनगढी–स्याउले सडक बढी प्रयोग हुदै आएको छ।

तर सडकमा परेका खाल्डा मर्मत गर्न कुनै निकायले पहल गरेको छैन्। स्थानीय, प्रदेश र केन्द्र कुनै सरकारले पहल नगरेको गुनासो गोदावरी नगरपालिका वडा नम्बर ७ का स्थानीय धनबहादुर धामीको छ। ‘सडकको दुराअवस्थाका बारेमा गोदावरी नगरपालिका मेयर, उप–मेयर, सुदूरपश्चिमका मुख्यमन्त्री, लगायत केन्द्रीय राजनीतिमा दखल राख्ने नेताहरुलाई पनि सडक निर्माण तथा मर्मतका लागि पहल गरेका थियौ।’ धामीले भने। ‘तर केही भएको छैन्। सडकमा परेका खाल्डाका कारण धनगढी जानै समस्या छ।

विद्यार्थीहरुलाई सबै भन्दा बढि समस्या भएको छ।’  धनगढी–दिपायल द्रुतमार्ग अन्तरगत हसनपुल–स्याउले सडक खण्डमा ज्यानमारा खाल्डाका कारण दुर्घटनाको जोखिम बढेको छ। धनगढीको हसनपुर देखि पूर्व–पश्चिम राजमार्गको स्याउले सम्मको १० किलोमिटर सडकमा अहिले सयाँै सवारीका साधनहरु ओहोर–दोहोर गर्ने गरेका छन्। तर सडकमा ज्यानमारा खाल्डाका कारण आवत–जावत गर्न मुस्किल भईरहेको छ, भने दुर्घटनाको जोखिम पनि बढेको छ।

खाल्डै–खाल्डा भएका सडक खण्डमा वर्षातको पानी जमेको छ। पानी र हिलोका कारण सवारी साधनसंगै पैदल यात्रु, विद्यार्थीहरुलाई पनि समस्या भएको छ। दैनिक ओहोर–दोहोर गर्ने भारवहान सवारी साधनका कारण सडकमा ठुला खाल्डा परेको भएपनि मर्मतका लागि कुनै निकायाले ध्यान नदिएको गोदावरी नगरपालिका वडा नम्बर ८ का स्थानीय गिता थापाको गुनासो छ।

उनले गोदावरी नगरपालिका क्षेत्रका नदीहरुबाट करोडौँको ठेक्का गर्दै राजस्व संकलन गर्ने तर सडक मर्मतका लागि वजेट नदिएको उनको गुनासो छ। सडक निर्माणका लागि यसअघि नै भएका निर्माण सम्झौताको समय सकिएकाले सडक मर्मतमा पनि अहिले अन्यौलता देखिएको हो।

स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारसंगै केन्द्र सरकारले पनि खाल्डा परेको सडक मर्मतका लागि पहल नगरेको भन्दै स्थानीय आक्रोसित छन्। धनगढी–दिपायल द्रुतमार्ग निर्माणको स्वामित्व संघीय सरकारसंग छ। तर मर्मतका लागि स्थानीय र प्रदेश सरकारले पनि लगानी गर्न सक्छन्।

संघीय सरकारले विगतमा उक्त आयोजनाका लागि छुट्टै कार्यालय खोलेकोमा अहिले हटिसकेको छ। अहिले सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयलाई दिईएको छ तर कर्मचारीको व्यवस्था पनि भएको छैन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले सडक मर्मतको कुनै योजना नरहेको बताए।

सडक मर्मतका लागि कुनै योजना छैन्। उनले भने, ‘कर्मचारी र कार्यालयको पनि टुंगो छैन्। पुरानो ठेक्काको समय अवधि सकिएको छ। सडक मर्मत हुदैन्।’ धनगढी–दिपायल द्रुतमार्ग योजना प्रदेश सरकारलाई मंसिर ४ गते हस्तान्तरण भएपछि २ जना ईन्जिनियर सहित योजना प्रमुख पनि खटाईएको थियो। पछि संघीय सरकारले योजना तानेपछि अहिले कार्यालय र कर्मचारीका ठेगान छैन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस