सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सबै अस्पतालमा आज निःशुल्क सेवा

२०७६ असोज २, ०६:५२ खबर संवाददाता

संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन निर्देशन दिईएको बताए।

दिवसको अवसरमा आजदेखि घर–घरमा दिपावली गर्न पनि प्रदेश सरकारले आह्वान गरेको छ। आजदेखि ४ गते सम्म सबै सरकारी कार्यालय र आम नागरिकको घरमा सरसफाई सहित दिपावली गर्न सरकारले आह्वान गरेको हो।

प्रदेश सरकारले आज नै सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकको घरघरमा सरसफाई र दिपावली गर्ने तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने जनाएको छ।

असोज ३ गते बिहान ७ बजे ट्राफिक चौराहबाट  धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ।

कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा मञ्च व्यवस्थापन उपसमिति, सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा प्रभातफेरी एवं झाँक्री व्यवस्थापन उपसमिति, मुख्यमन्त्री कार्यालययका सचिवको अध्यक्षतामा प्रचारप्रसार उपसमिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा फलफूल तथा वृक्षारोपण उपसमिति गठन गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस