सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसमा घर–घरमा दिपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

२०७६ असोज १, १०:५३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ। प्रदेश सरकारले असोज संविधान दिवसको अवसर पारेर असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालय र आम नागरिकको घरमा सरसफाई सहित दिपावली गर्ने जनाएको छ। आज मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिईएको हो।

सरकारले असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकको घरघरमा सरसफाई र दिपावली गर्ने तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ। असोज ३ गते बिहान ७ बजे ट्राफिक चौराहबाट  धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ।

कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा मञ्च व्यवस्थापन उपसमिति, सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा प्रभातफेरी एवं झाँक्री व्यवस्थापन उपसमिति, मुख्यमन्त्री कार्यालययका सचिवको अध्यक्षतामा प्रचारप्रसार उपसमिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा फलफूल तथा वृक्षारोपण उपसमिति गठन गरिएको छ।  
  

कमेन्ट लोड गर्नुस