सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा घुस सहित रंगेहात पक्राउ परेका कर्मचारीसंग साढे २७ लाख विगो माग दावी

२०७६ भदौ ३०, ०६:४४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा स्ट्रीङ अप्रेशनका क्रममा घुस रकम सहित रंगेहात पक्राउ परेका बिचौलिया सहितका २५ जनासँग साढे २७ लाख बिगो माग दावी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७२-७३ देखि गत आर्थिक वर्ष २०७५-७६ सम्म घुस रकम सहित पक्राउ परेका तीन विचौलिया सहित २५ जनाबाट साढे २७ लाख विगो असुल उपर गर्न माग दावी गरेको हो।

अख्तियारले विभिन्न समयमा गरेका स्ट्रीङ अप्रेशनका क्रममा सेवाग्राहीसँग लिएको घुस रकम सहित पक्राउ परेका कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा फरक–फरक समयमा आरोप पत्र दायर गर्दै साढे २७ लाख विगो माग दावी गरेको हो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालय भने घुस सहित रंगेहात पक्राउ परेर विशेष अदालतमा पेश गरिएका कर्मचारीहरुको बारेमा अनभिज्ञ देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख शिव कुमार कार्कीले अनुसन्धान प्रक्रिया सकेर केन्द्रीय कार्यालयले नै विशेष अदालतमा मुद्दा दायर गर्ने भएकाले मुद्दा किनारा लागे-नलागेको विषयमा आफूलाई जानकारी नहुने बताए। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले पनि विशेष अदालतमा दायर गरिएका कतिपय मुद्दामा पुनरावेदन हुदै अन्तीम फैसला भएपनि एकमुष्ट तथ्याङ्क नराखिएको तर विशेष अदालतको फैसलालाई आधार मानेर किनारा लागेको भन्न नसकिने बताए।

विशेष अदालतको फैसलामाथि वादी र प्रतिवादी पक्षले पुनरावेदन गर्न सक्ने भएकाले मुद्दाको अन्तीम फैसला हुन लामो समय लाग्ने बताए। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले आर्थिक वर्ष २०७२-७३ देखि हाल सम्म स्ट्रीङ अप्रेशनका क्रममा घुस रकम सहित २९ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेकोमा तीन विचौलिया सहित २५ जना विरुद्ध सजाय र विगो माग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।  
 

 

कमेन्ट लोड गर्नुस