सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुमतको आडमा विधेयक पारित नगर्न सरकार र नेकपालाई सचेत

२०७६ भदौ ३०, ०१:०७ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतको आडमा विधेयक पारित नगर्न सरकार र नेकपालाई सचेत गराएको छ। आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तहको छलफलमा कांग्रेस नेताहरुले नागरिकतालगायत विवादस्पद विधेकयहरु बहुमतको आडमा पारित नगर्न सचेत गराएको हो। 

जवाफमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सहमति जुटाउनकै लागि आफूले नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मतदान हुन नदिएको भन्दै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।

कांग्रेसले वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थामा नागरिकता ऐन २०६३ मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने अडान लिएको छ। प्रस्तावित नागरिकता विधेयकमा विदेशी महिलालाई अंगीकृत नागरिकता कति वर्षमा प्रदान गर्ने, प्रकृया के हुने र कुन–कुन अधिकार दिने जस्ता बिषयमा सहमति जुट्न सकेको छैन।

आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता विधेयकमा अझै बृहत छलफल गरेरमात्रै अघि बढ्ने बताएका छन्। नागरिकता लगायत पछिल्ला घटना क्रममा बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा नेकपा र कांग्रेसबीच शीर्ष छलफल भएको हो।

छलफलमा देउवासहित कांग्रेसका ११ शीर्ष नेताहरु सहभागी थिए। सत्तारुढ दलका तर्फबाट नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए।

छलफलमा समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री ढकालले बताए। झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताए।
 

कमेन्ट लोड गर्नुस