सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँपालिकाका स्वास्थ्य संयोजककै श्रीमती स्वास्थ्यकर्मी हुँ भन्दै औषधी बेच्छिन्

२०७६ भदौ ३०, ११:१३ खबर संवाददाता

बैतडीमा गाउँपालिकाका स्वास्थ्य संयोजककै श्रीमतीले स्वास्थ्यकर्मी हुँ भन्दै गैर कानूनी रुपमा निजि क्लिकबाट औषधी बिक्रि गर्ने गरेको आरोप लागेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर शाहकी श्रीमती श्यामाले आफूलाई स्वास्थ्यकर्मी भन्दै औषधी बेच्ने र विरामीको उपचार गर्ने गरेको आरोप लागेको छ।

गाउँपालिकाको वडा नम्बर ४ को अमचोरामा स्वास्थ्य संयोजक शाहले सञ्चालन गर्दै आएको श्यामा क्लिनीकमा औषधी बिक्रि वितरण सम्बन्धी कुनै तालिम नलिएको र ज्ञान समेत नभएकी श्यामाले औषधी बिक्रि र विरामीको उपचार गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लागेको हो।

संयोजक शाह कार्यालय समयमा गाउँपालिकामा भएका बेला उनकी श्रीमतीले क्लीनिकमा वषौँदेखि औषधी बिक्रि गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको स्थानीय प्रदिप चन्दले आरोप लगाए। उनले भने, “श्यामा शाहले स्वास्थ्य सम्बन्धी कुनै तालिम पनि लिएकी छैनन् तर क्लिनीकमा आउने विरामीको चेकजाँच गरी औषधी दिन्छीन्।”

यता स्वास्थ्य संयोजक शाहले श्रीमतीले औषधी बिक्रि सम्बन्धी तालिम नलिएको कुरा साँचो भएको स्वीकार गर्दै कामको अनुभवका आधारमा काम गर्दै आएको दावी गरे। त्यसरी औषधी बिक्रि गर्न कानून सम्मत नभएको पनि संयोजक शाह स्वीकार गर्छन्।

उनले फार्मेसीहरुले पनि अनुभव नभएका व्यक्तिबाट औषधी बिक्रि गर्ने गरेको आरोप पनि लगाए। गाउँपालिकाका अध्यक्ष गोरखवहादुर चन्दले गैरकानूनी रुपमा औषधी बिक्रि गरी नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारवाहीको दायरामा ल्याउन दावी गर्छन्।  

कमेन्ट लोड गर्नुस