मोबाइल बैंकिङ नभएकालाई सहजीकरण गर्दै बाढी पीडितका लागि धनगढी–१७ बाट १ लाख ६ हजार सहयोग
धनगढीः भोटेकोसी बाढीपहिरो पीडितका लागि राहत सहयोग जुटाउने उद्देश्यले धनगढी उपमहानगरपालिका–१७ मा सञ्चालित ‘भोटेकोसी बाढीपहिरो पीडितका निम्ति राहत संकलन सहजीकरण अभियान’ अन्तर्गत १ लाख ६ हजार ६५० रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
मोबाइल बैंकिङ सुविधा नभएका कारण राहत रकम योगदान गर्न नसकिरहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको अभियानबाट ६२९ व्यक्तिबाट १ लाख ४२० रुपैयाँ संकलन भएको थियो।
त्यसैगरी, धनगढी–१७ धुर्जन्नास्थित न्यु कालिका आधारभूत विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर ५ हजार २२५ रुपैयाँ सहयोग गरेका थिए। शिव ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड, धनगढी–१७ पथरीबाट १ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको थियो।
यसरी विभिन्न व्यक्ति, विद्यार्थी तथा संस्थाबाट प्राप्त सहयोगसहित कुल १ लाख ६ हजार ६५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अभियान सञ्चालक लोकराज जोशीले जानकारी दिए।
धनगढी–१७ दिपनगरका जोशीको नेतृत्वमा सञ्चालित अभियानमा धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय तथा स्थानीयको समन्वय रहेको थियो।
राहत सङ्कलन अभियान भदौ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको थियो। अभियानमार्फत मोबाइल बैंकिङ सुविधा नभएका नागरिकलाई राहत कोषमा प्रत्यक्ष योगदान गर्न सहजीकरण गरिएको उनले बताएका छन्।