सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बिष्ट दम्पतीको सफल उद्यम, फूलखेतीबाटै वार्षिक ५० लाखकको कारोबार

२०८३ भदौ २५, ०२:२२ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–६ मट्यारीका शुशिला बिष्ट र उनका श्रीमान् शंकरसिंह बिष्टले फूलखेतीबाटै आफ्नो छुट्टै पहिचान बनाएका छन्। दुई बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आएको यो दम्पती अहिले सफल कृषक तथा उद्यमीका रूपमा स्थापित भएको छ।

बिष्ट दम्पतीले कृषि क्षेत्रमा काम गर्न थालेको करिब एक दशक पुगेको छ। कृषि व्यवसायमा लाग्नुअघि उनीहरू स्थापित व्यवसायी भने थिएनन्। तर, केही वर्षअघि शुशिला शिक्षक सेवा आयोगको तयारीका लागि काठमाडौं पुगेका बेला उनले एउटा डेरी व्यवसायीलाई गाईको दूधबाट राम्रो आम्दानी गरिरहेको देखिन्। त्यही दृश्यले उनलाई आफ्नै व्यवसाय गर्ने सोच जन्मायो।

काठमाडौंमा देखेको त्यही सम्भावनाले उनलाई कृषि उद्यमतर्फ डोर्‍यायो। त्यसपछि उनले कैलालीको कैलारी गाउँपालिकामा गाईभैंसी पालन, डेरी तथा घाँसको बीउ उत्पादन सुरु गरिन्। केही वर्ष त्यही व्यवसाय सञ्चालन गर्दा उनले व्यावसायिक कृषिबारे राम्रो अनुभव हासिल गरिन्।

डेरी तथा पशुपालन व्यवसायबाट वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी शुशिलाले त्यही आम्दानीबाट १० कठ्ठा जग्गासमेत जोडिन्। व्यवसायमा उनका श्रीमान् शंकरसिंहले व्यवस्थापकका रूपमा साथ दिए। श्रीमान्–श्रीमतीको मेहनत, लगन र निरन्तर प्रयासले उनीहरूलाई कृषि उद्यममा अघि बढ्न थप उत्साहित बनायो।

यसैबीच धनगढी उपमहानगरपालिकाले प्लास्टिकरहित नगर बनाउने अभियान अघि बढायो। उपमहानगरपालिकाले फूल व्यवसाय प्रवर्द्धनका लागि सञ्चालन गरेको सीटीईभीटीसम्बन्धी तालिमको सूचना पाएपछि शुशिलाले पनि सम्पर्क गरिन्। एक साताको तालिम लिएपछि उनले फूलखेती गर्ने योजना बनाइन्।

त्यसपछि मट्यारीमा दुई बिघा जग्गा भाडामा लिएर फूलखेती सुरु गरिन्। सुरुमा दशैं–तिहारलाई लक्षित गरी केही कठ्ठा जग्गामा परीक्षणका रूपमा फूल लगाइयो। उत्पादन राम्रो भएपछि बिष्ट दम्पतीले व्यावसायिक रूपमा फूलखेती विस्तार गरे।
धनगढी उपमहानगरपालिकाले फूल व्यवसाय प्रवर्द्धनसँगै प्लास्टिकमा कडाइ गरेपछि फूलखेतीले थप बजार पाउन थालेको बिष्ट दम्पतीको अनुभव छ। फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले तालिम तथा बीउबिजन

उपलब्ध गराउनुका साथै उत्पादित फूल अन्य प्रदेशमा पठाउन निःशुल्क हवाई ढुवानीको समेत व्यवस्था गरेको उनीहरू बताउँछन्।

‘स्थानीय सरकारले प्रोत्साहन नगरेको भए अहिलेको अवस्थामा पुग्न कठिन हुन्थ्यो,’ शुशिला भन्छिन्।

बिष्ट दम्पतीले मौसमी तथा बेमौसमी गरी विभिन्न प्रजातिका फूल उत्पादन गर्दै आएका छन्। सयपत्री फूल वर्षभरि उत्पादन गर्ने उनीहरूले अन्य फूल भने मौसमअनुसार लगाउने गरेका छन्। धनगढीमा उत्पादन भएको फूल सुदूरपश्चिमका विभिन्न जिल्लासँगै काठमाडौं, जनकपुर, चितवन, बुटवललगायतका सहरमा समेत आपूर्ति हुने गरेको छ।

फूलखेतीबाट अहिले १२ जनाले नियमित रोजगारी पाएका छन्। फूलको सिजनमा भने २२ देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन्। बिष्ट दम्पतीले ‘न्यु बण्डोली नर्सरी कन्सर्न’ नामबाट फूल उत्पादन तथा बिक्री केन्द्र सञ्चालन गरिरहेका छन्।

फूलको बजारीकरणका लागि पनि किसानलाई स्थानीय तह र सरकारी निकायबाट सहयोग मिलेको छ। धनगढी उपमहानगरपालिकाले किसानलाई फूल बिक्री गर्न निःशुल्क प्राङ्गण उपलब्ध गराउँदै आएको छ। यस्तै, कृषि विकास निर्देशनालय दिपायल, डोटीले १९ वटै वडाका किसानलाई लक्षित गरी करिब १७ जना किसानको फूल भण्डारण गर्न सकिने गरी कोल्डस्टोर स्थापना गरेको छ। किसानले उक्त कोल्डस्टोरमा निःशुल्क रूपमा फूल भण्डारण गरी बिक्री वितरण गर्दै आएका छन्।

कोल्डस्टोरको सुविधाका कारण फूललाई लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले वर्षभरि नै बिक्री वितरण गर्न सहज भएको किसानहरूको भनाइ छ।
अहिले बिष्ट दम्पतीले फूलखेतीबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गरिरहेका छन्। आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीबारे सोच्ने फुर्सदसमेत नभएको उनीहरू बताउँछन्।

सुदूरपश्चिमको मौसमका कारण केही चुनौती भए पनि बजारको सम्भावना राम्रो रहेको शुशिलाको अनुभव छ।फुलखेतीबाट केही घरखर्च जोहो गर्दै धनगढीमै घडेरी समेत जोडेका दम्पतीले अब घर लगाउने योजना समेत बनाएका छन् ।अन्य किसानहरुलाइ यो व्यवसायतर्फ प्रेरित गर्न  फूलखेतीलाई थप विस्तारका लागी सरकारले मल, बीउबिजन, प्रविधि र बजारीकरणमा अझ बढी सहयोग गर्नुपर्ने उनको माग छ।

बिष्ट दम्पती मात्रै होइन, धनगढीका अन्य किसान पनि पछिल्लो समय फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन्। प्लास्टिकको प्रयोगमा कडाइ र वातावरणमैत्री विकल्पको खोजी बढ्दै जाँदा फूलको मागसमेत बढेको छ।

स्थानीय उत्पादन, रोजगारी र आम्दानीको स्रोतका रूपमा फूलखेती विस्तार हुँदै जाँदा वैदेशिक रोजगारीका लागि विदेशिन खोजिरहेका युवाका लागि पनि आफ्नै ठाउँमा उद्यम गर्ने सम्भावना देखिएको छ। बिष्ट दम्पतीको सफलताले कृषि क्षेत्रमा लगन र बजारको सही पहिचान गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस