दार्चुलामा पहिराेले चौलानी नदी थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह
दार्चुला: दार्चुलाकाे अपिहिमाल गाउँपालिका–१ भण्डारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको छ।
पहिरो आउने क्रम अझै जारी रहेकाले नदीको बहावमा थप अवरोध आउन सक्ने र अचानक पानीको सतह बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट जोगिन र धनजनको क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनका अनुसार हाल चौलानी नदी पहिरोका कारण आधा थुनिएको अवस्थामा रहेको र पहिरो आउने क्रम जारी रहेकाले थप जोखिम उत्पन्न हुन सक्ने सम्भावना छ। नदीमा थप पहिरो खस्दा पानीको बहाव अवरुद्ध भएर एक्कासि निकास हुनसक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १११५, विपद् व्यवस्थापनसम्बन्धी जानकारी तथा सहयोगका लागि १२३४ (DEOC), नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १०० तथा नेपाल सरकारको १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
त्यस्तै, विपद्को समयमा कुनै पनि घटनामा उद्धारको आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क नम्बरमा समेत जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७९७७७८ र सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७९६६६६ मा सम्पर्क गर्न सकिनेछ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको सम्पर्क नम्बर ९८५९२९४९९९ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टरको सम्पर्क नम्बर ९६८०३४९९७६ मा समेत आवश्यक जानकारी तथा सहयोगका लागि सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
प्रशासनले नदी आसपासका क्षेत्रमा रहेका नागरिकलाई नदीको अवस्था नजिकबाट अवलोकन गर्न नजाने, सम्भावित जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न तयार रहन तथा स्थानीय तह र सुरक्षा निकायले जारी गर्ने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबै निकायलाई आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहनसमेत प्रशासनले अनुरोध गरेको छ।