सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीपीडितलाई शिवपुरी धाम परिवारको १ लाख ५ हजार सहयोग

२०८३ भदौ १९, ०९:२८ लक्ष्मण ढुङ्गाल

धनगढीः भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिवारले १ लाख ५ हजार ६ सय ३५ रुपैयाँ राहत सहयोग गरेको छ।

धाम व्यवस्थापन समिति, सल्लाहकार, मानार्थ सल्लाहकार, कर्मचारी, पुजारी, माताजी तथा शिवपुरी नारी जागरण समूहको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको हो।धाम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दानसिंह धामीका अनुसार धाम आफैं पनि चन्दा संकलनमा सञ्चालन हुने गुठी भए पनि विपद्को समयमा बाढीपीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो। 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको धाम परिवारले जनाएको छ। भोटेकोशी–त्रिशूलीलगायतका क्षेत्रमा हिमपहिरोका कारण आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै धाम परिवारले पीडितको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरेको जनाएको छ।

धाम परिवारले विपद्को यस घडीमा स्वदेश तथा विदेशमा रहेका सबैलाई मानवीय भावनाका साथ बाढीपीडितको सहयोगमा जुट्न आग्रह गरेको छ। साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस