कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रका सडक डुबानमा
कञ्चनपुर: कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रका सडक डुबानमा परेका छन् । अविरल वर्षाका कारण महेन्द्रनगर बजारको गल्ली नम्बर ३, ४ तथा भीमदत्त नगरपालिका–१८ कटान लगायत क्षेत्रका सडकहरू डुबानमा परेका हुन्।
स्थानीय राधा जोशीका अनुसार सडक क्षेत्रमा पानी भरिदैँ गएपछि यात्रा गर्न कठिनाइ भएको छ ।
सडकमा पानी जमेका कारण महेन्द्रनगर बजारस्थित सरकारी कार्यालयहरू समेत डुबानमा पर्दे गएको उनले बताइन्। सेवाग्राहीको भिडभाड नहुने भए पनि महेन्द्रनगरस्थित लोकसेवा आयोगको कार्यालय परिसर डुबानमा परेको छ।
पानी भरिएपछि कर्मचारीहरूलाई कार्यालय प्रवेशमा समस्या भएको सूचना अधिकारी गंगालाल योगीले बताए ।
कार्यालय नजिकैको सडकमा ढल निकासका लागि नाली मर्मत नगरिँदा वर्षायाममा कार्यालय डुबानमा पर्ने गरेको उनले बताए।
पानी निकासाको व्यवस्था गरिदिन भीमदत्त नगरपालिकालाई पटक पटक आग्रह गर्दे आएको उनकाे भनाइ छ । तर व्यवस्थित ढङ्गले ढल निकास नगरिँदा कार्यालयका सामाग्री जोगाउनसमेत समस्या भएको उनले गुनासाे गरे।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले सरकारी कार्यालयहरू जिल्ला अदालत, लोकसेवा आयोग, कोष तथा लेखा नियन्त्रण कार्यालय तथा बजार क्षेत्रमा भरिएको पानी निकासको प्रयास भइरहेको बताए।
तर ती पुराना संरचना भएकाले दीर्घकालीन रूपमा भने ढल निकासका लागि भने समस्या निम्तिएको उनकाे दाबी छ।