सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रम तर्फ आकर्षण बढ्न सकेन

२०७६ भदौ २८, ११:१४ कमल सावद

२०७२ चैत्र २५ गते नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी नहुँदा आम नागरिकको आकर्षण बढ्ने सकेको छैन्। सुदूरपश्चिमबाट सुरु भएर देशभरका ४८ जिल्लामा विस्तार भएको कार्यक्रमप्रती यहाँका आम नागरिकको आकर्षण बढ्न नसकेको हो। कार्यक्रम लागु नभएका डोटी र डडेल्धुरा बाहेकका जिल्लाका ८ प्रतिशत जनसंख्या मात्र बिमित रहेको तथ्याङ्क रहेको छ।

२८ लाख बढि जनसंख्या मध्ये दुई लाख २२ हजारले मात्र बीमा गराएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका संयोजक जनकबहादुर साउँदले बताए। तर भौगोलिक विकटता र जनचेतनाको अभावले गर्दा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन नसकिएको दावी उनको छ। प्रदेशमा सबैभन्दा कम बीमितहरुको संख्या दार्चुलामा छ भने बढि कैलालीमा छ।

दार्चुलामा चार हजार पाँच सय ११  बीमितहरुको संख्या छ भने, कैलालीमा एक लाख २४ हजार सात सय १९ छ। कञ्चनपुरमा ६ हजार एक सय ५८, बैतडीमा दश हजार ४ सय २६, अछाममा २३ हजार नौँ सय नौ,  बाजुरामा २५ हजार चार सय ३८ र बझाङमा २७ हजार सात सय ८७ बीमितहरु छन्।

दुई लाख २२ हजार ८ सय ३० बीमित रहेको प्रदेशमा एक लाख ४ हजार सात सय १९ पुरुष, एक लाख १८ हजार ६ सय ६० महिला र १९ अन्यले बीमा गराएका हुन्। उनीहरुले प्रदेश भरीका २५ स्वास्थ्य संस्थाहरुबाट सेवा लिइरहेका छन्। कैलालीमा चार नीजि अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सहित टीकापुर अस्पताल र सेती प्रादेशिक अस्पतालबाट बीमितहरुले औषधी उपचार सेवा पाइरहेका छन्।

पहाडी जिल्लाहरुमा पनि प्राथामिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालहरुबाट बीमितहरुले स्वास्थ्य सेवा पाउने गरेका छन्। तर भौगोलिक विकटता र जनचेतनाको अभावका कारण प्रदेशका पहाडी जिल्लामा बीमितहरुको संख्या बृद्धि गर्न नसकिएको दावी गरिदै आएको छ।  स्वास्थ्य बीमा गर्ने पाँच जनाको परिवारले अहिले तीन हजार पाँच सय वर्षिक तिर्नुपर्ने हुन्छ।

उनीहरुले एक लाख सम्मको निःशुल्क औषधि उपचार पाउनेछन्। पाँच जना भन्दा बढिको बीमाका लागि प्रति व्यक्ती सात सयका दरले थप्नुपर्ने हुन्छ। प्रदेशमा स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन २० जना दर्ता अधिकारी, छ सय ३९ दर्ता सहयोगी छन्। उनीहरुले प्रदेशका नागरिकलाई बीमाका बारेमा जानकारी दिने र बीमा गर्न आग्रह गर्दै आएका छन्। तर प्रदेशको आठ प्रतिशत नागरिक मात्र बीमामा समावेश भएका छन्।

डोटीका ७२ र डडेलधुराका ५२ वडा बाहेक प्रदेशका छ सय १७ वडामा कार्यक्रम लागु भएको छ। स्वास्थ्य बीमाप्रति नागरिकको चाँसो न्युन रहेका बेला बाँकी रहेको डोटी र डडेलधुरामा पनि स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने प्रक्रिया थालिएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम संयोजक साउँदले बताए। भौगोलिक विकटता र जनचेतनाको अभावलाई मुख्य समस्याका रुपमा देखाईएपनि प्रभावकारी सेवा नपाउँदा स्वास्थ्य विमा कार्यक्रम प्रति आम नागरिकले चाँसो नदिएको तर्क धेरैको छ। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस