सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

२०८३ भदौ ११, ०२:५९ खबर संवाददाता

काठमाण्डाैः रसुवाकाे भाेटेकाेशी नदीमा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार भएको छ । आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ विदेशीसहित उनीहरूकाे उद्धार भएको हो ।

नेपाली सेनाको झन्डै ४ हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। 

सेनाका  अनुसार टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।

सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ ।

जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्‍याइसकेको छ । उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ ।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको सरकारले जनाएको छ ।

सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ ।

कमेन्ट लोड गर्नुस