सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षित वडा अभियानमा एक्सिस विद्याश्रमको सहयोग

२०८३ भदौ ११, १२:२७ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–५ लाई सुरक्षित र व्यवस्थित वडा बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘सुरक्षित वडा अभियान’मा एक्सिस विद्याश्रमले प्रेरणादायी सहयोगको प्रतिबद्धता जनाएको छ।

अभियानलाई थप प्रभावकारी बनाउन एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्तले वडाको सुरक्षा व्यवस्थामा सहयोग पुग्ने गरी दुई वटा सीसीटीभी क्यामेरा जडानका लागि करिब ७० हजार रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्।

वडाका सार्वजनिक स्थल तथा संवेदनशील क्षेत्रमा सीसीटीभी जडान गरी सम्भावित आपराधिक गतिविधिको निगरानी, घटना न्यूनीकरण तथा नागरिकको सुरक्षा अभिवृद्धि गर्ने अभियानको उद्देश्य छ। प्रविधिको प्रयोगमार्फत वडाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सीसीटीभी महत्वपूर्ण माध्यम बन्ने अनुमान गरिएको छ।

सुरक्षित वडा निर्माण सरकार वा प्रहरीको मात्र प्रयासले सम्भव नहुने भन्दै स्थानीय सरकार, विद्यालय, संघसंस्था, व्यवसायी तथा नागरिकबीचको सहकार्य आवश्यक रहेको अभियानले जनाएको छ।

अभियानमा सहयोगको प्रतिबद्धता जनाएकोमा एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्तप्रति धनगढी–५ का वडाध्यक्ष गजेन्द्र चन्दले आभार व्यक्त गरेका छन्। उनले स्थानीय समुदायको सहकार्य र सहभागिताले मात्रै सुरक्षित तथा सभ्य वडा निर्माण गर्न सकिने बताए।

‘तपाईं र हाम्रो सहकार्यले मात्र हाम्रो वडा अझ सुरक्षित बन्न सक्छ’ भन्ने सन्देशसहित अभियानले अन्य विद्यालय, व्यवसायी, संघसंस्था तथा नागरिकलाई समेत अभियानमा जोडिन र आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आह्वान गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस