सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कैलाली पहिलो नम्वरमा

२०७६ भदौ २७, ०७:०४ नवराज पनेरु

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएपछि ६ बर्षको अवधीमा झण्डै पाँच हजार उजुरी परेका छन्। २०७० सालमा अख्तियारको कार्यालय कञ्चनपुरमा स्थापना भएपछि ६ बर्षको अवधीमा चार हजार सात सय ९९ उजुरी परेका हुन्। त्यसमध्ये अहिले सम्म चार हजार एक सय ३२ उजुरी फच्र्योट भईसकेका छन् भने छ सय ६७ बाँकी रहेका छन्। 

‘सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले भने, ‘बाजुरा जिल्ला सबैभन्दा कम भ्रष्टाचार हुने जिल्लाका रुपमा रहेको छ।’

उनले भने– ‘कैलालीमा अख्तियार कञ्चनपुरको कार्यालय स्थापना भएपछि अहिले सम्म एक हजार चार सय १२ उजुरी परेका छन्, दोश्रो नम्वरमा रहेको कञ्चनपुर जिल्लामा एक हजार एक सय ६२ उजुरी परेका छन्।’

पहाडी ७ जिल्लामा सबैभन्दा बढि बैतडीका ५ सय ४७ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा परेका छन्। डडेल्धुरामा तीन सय ८२, डोटीमा तीन सय ६३, दार्चुलामा दुई सय ८२, बझाङमा दुई सय ७३, अछाममा दुई सय ३४ र बाजुरामा एक सय ३० उजुरी अख्तियारमा परेका छन्।

तराईका जिल्लामा सरकारी कार्यालयसंगै भ्रष्टाचार विरुद्ध सर्वसाधारणले समेत चाँसो राख्न थालेकोले अख्तियारमा उजुरीको सङख्या पनि कैलाली र कञ्चनपुरमा बढि देखिएको तर्क उनको छ। पहाडी ७ जिल्लामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी राख्न समेत नसकेको उनले स्वीका गरे।

कैलालीमा सरकारी कार्यालयको सङख्या पनि अन्य जिल्लाको तुलनामा धेरै भएकाले भ्रष्टाचार पनि बढ्दो क्रममा रहेको तर्क अख्तियारलाई सघाउन बनाईएको सिटिजन जुरी तदर्थ समितिका संयोजक डाक्टर हेमराज पन्तको छ। 

‘सुदूरपश्चिममा सबैभन्दा बढि स्थानीय तह र प्रदेशका मन्त्रालय पनि कैलालीमै छ,’ पन्तले भने, ‘जुन क्षेत्रमा कारोवार बढि भयो सोही क्षेत्रमा भ्रष्टाचार पनि बढ्ने गरेको छ।’ सुरुमा उजुरीमाथि सुक्ष्म अनुसन्धान गर्ने अख्यिारले पछि विस्तृत अनुसन्धान गर्दै आएको छ।

तर पहाडी जिल्लामा उपस्थीती बाक्लो पार्न नसकिएको कुरा भने अख्तियारले पनि स्वीकार गरेको छ। अनियमितता बारे सुचना पनि कैलाली र कञ्चनपुर जिल्लाबाटै धेरै आउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ। 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस