प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट हटाएकोमा काँग्रेसको आपत्ति
धनगढीः सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले काँग्रेस नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएकोप्रति आपत्ति जनाएका छन्।
बुधबार धनगढीमा आयोजित कार्यक्रममा शाहले प्रदेश सभा सदस्य देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति प्रश्न उठाएका हुन्। उनले देउवालाई एक्कासी पदमुक्त गर्नुको पछाडिको नियतबारे सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने बताए।
शाहले कुनै पनि प्रदेश सभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिसँग एकपटक स्पष्टीकरण लिनुपर्ने भन्दै प्राकृतिक न्यायको सिद्धान्तको पालना हुनुपर्ने जिकिर गरे।
उनले काँग्रेस संवैधानिक तथा कानुनी विषयमा खुला रूपमा छलफल र बहस गर्न तयार रहेको बताउँदै देउवालाई पदमुक्त गर्ने निर्णय जायज वा नाजायज भनेर तत्काल निष्कर्ष नदिए पनि प्रक्रियामाथि प्रश्न उठाए।
यसअघि पनि यस्तै प्रकृतिको घटनामा प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको र उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ जारी भएको उदाहरण शाहले स्मरण गरे। उनले सीमित उद्देश्य पूरा गर्ने गरी प्रदेश सभा सदस्यलाई हटाउने काम हुन नहुने धारणा राखे।
शाहले सभामुखले दलीय अंकगणित र दलगत निर्णयलाई आधार बनाएर काम गर्न नहुनेमा समेत जोड दिए। सभामुख पदमा पुगेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सभामुखले दलको अंकगणितलाई हेरेर आफ्ना कदम अघि बढाउन नहुने बताए।
प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा मंगलबार पदमुक्त भएका थिए।
प्रदेश सभा सचिवालयका अनुसार देउवा पूर्वसूचना नदिई लगातार १० भन्दा बढी प्रदेश सभा बैठकमा अनुपस्थित भएका कारण संविधानअनुसार पदमुक्त भएका हुन्।