दार्चुलामा पासोमा परेको चितुवाको जीवितै उद्धार
दार्चुलाः दार्चुलाको लेकम गाउँपालिका–५ अम्कुरमा पासोमा परेको चितुवाको जीवितै उद्धार गरिएको छ। सोमबार राति कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको विशेषज्ञसहितको टोलीले करिब राति १२ बजे चितुवाको उद्धार गरेको हो।
डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख सुवास कुँवरका अनुसार चितुवा स्थानीयले जंगली बँदेलका लागि थापेको पासोमा परेको थियो। आइतबार राति पासोमा परेको चितुवाबारे स्थानीयले आइतबार बिहानै डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए।
चितुवाको उद्धारका लागि कञ्चनपुरबाट विशेषज्ञ टोली बोलाइएको थियो। विशेषज्ञ टोलीको सहयोगमा चितुवालाई सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ।
उद्धार गरिएको चितुवाको अवस्था सामान्य रहेको र आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताइएको छ।