बस्तीमा पसेको बाघ नियन्त्रणमा, एक व्यक्ति र गाई घाइते
चितवन: चितवनको राप्ती नगरपालिका–१, डिपार्ट बस्तीमा पसेको बाघको आक्रमणबाट एक जना व्यक्ति र एक वटा जर्सी गाई घाइते भएका छन्। बस्तीमा प्रवेश गरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले करिब पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले स्थानीय ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको थियो। आक्रमणबाट सामान्य घाइते भएका अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी तथा प्राविधिकहरू हात्तीसमेत परिचालन गरी घटनास्थलमा खटिएका थिए। टोलीले करिब साढे ११ बजे बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ।
पछिल्लो समय चितवनका मध्यवर्ती क्षेत्र तथा बस्ती आसपास बाघ देखिने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।