काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास बिक्री, अभाव हुन नदिन निगमको पहल
काठमाडौं: नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण गरेको छ।
यसअघि निगमले टेकुस्थित कार्यालयबाट मात्रै ग्यास बिक्री गर्दै आएकोमा शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट खुला रूपमा ग्यास बिक्री वितरण गरिएको हो।
निगमका अनुसार टेकु कार्यालय, यातायात कार्यालय परिसर चावहिल, बसुन्धरास्थित राधास्वामी परिसर, राधास्वामी परिसर कीर्तिपुर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री गरिएको छ।
खुला स्थानबाट ग्यास बिक्री सुरु भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर ग्यास लिन पुगेका थिए। निगमले ग्यास खरिद गर्न आउने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरेको जनाएको छ।
एलपी ग्यासको अभाव हुन नदिन आगामी दिनमा पनि सहज र नियमित बिक्री वितरणको व्यवस्था गरिने नेपाल आयल निगमले जनाएको छ।