सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमलिनुपर्दैन : विश्वप्रकाश शर्मा

file photo
file photo
२०८३ साउन ३०, ०३:१८ खबर संवाददाता

ललितपुर: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुग्नुभएका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर्‍याएको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकतामाथि प्रश्न उठाउनुको अर्थ नरहेको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताउँदै अदालतले पार्टीको केन्द्रीय समिति बदर नगरेको र गगन थापा नै सभापति रहेको विषय स्पष्ट भएको दाबी गर्नुभयो। उहाँले संस्थापन इतर समूहलाई पनि अदालतको फैसला र पार्टीको वैधानिक प्रक्रियालाई स्वीकार गर्न आग्रह गरे।

पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले नेपाली कांग्रेसमा विधिको सर्वोच्चता कायम रहने बताए।

उनले खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउने अधिकार राखेजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय गर्ने अधिकार सम्बन्धित संवैधानिक निकायसँग मात्र हुने तर्क गरे। उनका अनुसार पार्टीको वैधानिकतासम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुन्छ।
 

कमेन्ट लोड गर्नुस