अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित
महेन्द्रनगर: नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन्।
सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा २०७१ सालमा केन्द्र स्थापना भएको हो। स्थापनाकालदेखि नै केन्द्रबाट २४ सै घण्टा सेवा प्रवाह हुँदै आएको रणसिंहदल गणले जनाएको छ।
गणका प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार केन्द्रलाई औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ।
सेनाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी चेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ।