डोटीमा ११ महिनामा ५२ महिला घरमै सुत्केरी
डोटी: सरकारले संस्थागत सुत्केरीलाई प्राथमिकता दिँदै आए पनि डोटीमा घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ५२ महिलाले घरमै बच्चा जन्माएका छन्।
स्वास्थ्य कार्यालय डोटीका सुचना अधिकारी कपिल देव जाेशीका अनुसार सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँपालिकामा नाै/नाै जना महिला घरमै सुत्केरी भएका छन्। बडीकेदार गाउँपालिकामा आठ, सायल गाउँपालिकामा सात, दिपायल सिलगढी नगरपालिकामा पाँच तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जना महिला घरमै सुत्केरी भएका छन्।
त्यस्तै, जोरायल गाउँपालिकामा पाँच जना, केआई सिंह गाउँपालिकामा तिन जना तथा शिखर नगरपालिकामा दुई जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य संस्थामा सुत्केरी नहुँदा आमा र नवजात शिशुको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले संस्थागत सुत्केरीलाई प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। समयमै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउँदा प्रसूतिको क्रममा आउन सक्ने जटिलताको व्यवस्थापन तथा आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने कार्यालयको भनाइ छ।