सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

२०८३ साउन २१, १०:२६ खबर संवाददाता

वीरगञ्जः वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे १४ जिइ ८७१० नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको हो। दुर्घटनापछि ट्याङ्कर चालक फरार भएका थिए।

दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनापछि फरार भएको ग्यास ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्।

प्रहरीका अनुसार चालकको स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस