कैलालीमा छाडा गाईसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गौरीगंगा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा छाडा गाईसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते भएका छन् भने गाईको घटनास्थलमै मरेको छ।
सोमबार बिहान ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१४ प ३४८० नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ निवासी २३ वर्षीय सुनिल चौधरी घाइते भएका छन्।
उनको टाउको, बायाँ हात र बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते चौधरीलाई उपचारका लागि राजीपुरस्थित क्रिष्टिना मेडिकल उपचार भइरहेको जनाइएको छ। दुर्घटनाबारे इलाका प्रहरी पोस्ट राजीपुरबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार बुढाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर मोटरसाइकल नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।