काँग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वले लचकता देखाउनुपर्छ: एनपी साउद
धनगढी: नेपाली कांग्रेसका संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान नेतृत्वले लचकता, संवाद र सहमतिको बाटो अपनाउनुपर्ने बताएका छन्।
शनिबार संस्थापनइतर समूहको सम्पर्क कार्यालय, चूनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभई आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे। उनले वार्ता र संवादमार्फत सहमतिमा पुग्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि पार्टी नेतृत्वले उदार र लचक बन्नुपर्ने आवश्यकता औंल्याए।
साउदले संस्थापन पक्षसँग अनौपचारिक छलफलहरू भए पनि अहिलेसम्म कुनै सार्थक बहस हुन नसकेको बताए। साथै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षलाई पठाएको प्रस्तावको समेत हालसम्म कुनै औपचारिक जवाफ नआएको उनको भनाइ थियो।
पार्टीको जनाधार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले कांग्रेसको मत २७ लाखबाट घटेर १६ लाखमा झरेको र प्रतिनिधिसभामा सिट संख्या ८९ बाट ३८ मा सीमित भएको उल्लेख गरे। यस्तो अवस्थामा पार्टीभित्रको एकता अझ अपरिहार्य बनेको उनको धारणा थियो।
नेता साउदले निर्वाचन आयोग र अदालतबाट स्थापित पार्टी नेतृत्वले सबै पक्षलाई समेट्ने उदार नीति अपनाउनुपर्नेमा जोड दिँदै त्यसबाट मात्रै कांग्रेसलाई पुनः सशक्त बनाउन सकिने विश्वास व्यक्त गरे।