सुदूर नेपाललाई विश्वसँग जोड्दै

नविल बैंक लुटपाट प्रकरणः बैंकका पूर्व चालक र सुरक्षा गार्डसंग सोधपुछ

२०७६ भदौ २४, ०१:३८ खबर संवाददाता

धनगढीमा हतियार, सुन, नक्कली कागजात, चेक र करोडौँका तमसुक सहित पक्राउ परेका तीन जनासंग ट्राफिक प्रहरीले प्रयोग गर्ने सामान भेटिएसंगै ६ बर्ष पुरानो नबिल बैंक लुटपाट प्रकरणमा जोडिएका व्यक्तिहरुसंग सोधपुछ सुरु गरिएको छ। धनगढीबाट पक्राउ सञ्जय राना सहत तीन जनाको कनेक्सन नबिल बैंक लुटपाट प्रकरणमा हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान केन्द्रित पारेपछि बैंकका तत्कालिन कर्मचारीसंग सोधपुछ सुरु गरिएको छ। 

बैंकका तत्कालीन सुरक्षा गार्ड गंगादत्त भट्ट र गाडी चालक दिल बहादुर चन्दलाई सोधपुछका लागि बोलाएको हो। उनीहरुसंग सामान्य सोधपुछ भईरहेको छ। २६ मंसिर २०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको दुई करोड ३० लाख ६० हजार रुपैया र दुई सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्ग्स्थित मालाखेती जंगलमा दिउसै लुटिएको थियो।

हतियार सहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले पैसा लिएर आएका बैंकका कर्मचारीहरु सवार म १ च १४६ नम्बरको जीपलाई नियन्त्रणमा लिएर रकम लुटेका थिए। उक्त जीपमा चालक बीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ्ग, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए।

बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको थियो। तर, प्रहरीले अनुसन्धानको कुनै पनि ‘क्लू’ समेत फेला पार्न सकेको थिएन्। प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गरेपनि कुनै पनि टोली अपराधी नजिकसम्म पुग्न सकेनन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्दा समेत केही पत्तो लागेको थिएन्। 
 

कमेन्ट लोड गर्नुस