सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा दसैं अघि फोरजी सेवा

२०७६ भदौ २३, ०३:४४ नवराज पनेरु

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो।

‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तारको कार्य भईरहेको छ,’ नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले भने, ‘माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको छ।’ 

दशैँ अगाडी भने पुर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा पर्ने १२ सहरमा फोरजी विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए। क्षेत्रीय प्रमुख न्यौपानेले भने– ‘धनगढी, महेन्द्रनगर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फुलवारी लगायतका १२ सहरमा दशैँ अगाडी नै फोरजी विस्तार गर्ने गरि काम भईरहेको छ।’

उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार १२ सहरमा फोरजि विस्तार भईरहेको हो। फोरजी विस्तारको काम मध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम लगभग पूरा गरेको छ।

\कोर प्रणालीको परीक्षण गर्न टेलिकमले शनिबार राति साढे ११ बजे आफ्नो सिस्टम अपग्रेड गरेको थियो। उक्त अपग्रेड सफल भएको टेलिकमले जनाएको छ। आगामी माघ भित्र भने सुदूरपश्चिमका ३ सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ। 

हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ। टेलिकमले फोरजी विस्तारका लागि २०७४ कात्तिकमा टेण्डर आव्हान गरेको थियो। फोरजी विस्तारका लागि देशभरी ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ। यो बाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस