सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक वर्षमा १ हजार ३२४ अपराध दर्ता

२०८३ साउन ७, १०:२० अनिता चौधरी

धनगढीः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।

प्रहरी कार्यालयले २०८२ साउन १ गतेदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा जिल्लाभरि भएका अपराध अनुसन्धान, नियन्त्रण तथा सम्पादित कार्यहरूको विस्तृत तथ्याङ्क सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार गत एक वर्षको अवधिमा कञ्चनपुर जिल्लामा कुल १ हजार ३२४ वटा विभिन्न प्रकृतिका अपराध सम्बन्धी मुद्दाहरू दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्लामा दर्ता भएका कुल अपराधहरू मध्ये सङ्गठित तथा आर्थिक अपराधको संख्या सबैभन्दा रहेको छ। एक वर्षभरिमा यस्ता अपराधका ४०२ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, कञ्चनपुरमा एक वर्षको अवधिमा १७९ वटा सामाजिक अपराधका मुद्दा दर्ता भएका छन्। यस अपराधको संख्या हेर्दा स्थानीय स्तरमा अझै पनि सार्वजनिक शान्ति सुरक्षा र सामाजिक विकृति ठूलो चुनौतीका रूपमा रहेको दर्शाएको छ।

समाजमा मानसिक स्वास्थ्य र सामाजिक समस्याका रूपमा प्रस्तुत भइरहेको आत्महत्याका घटना पनि जिल्लामा उच्च देखिएको छ। एक वर्षमा १३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। यसै गरी जिल्लामा ज्यान सम्बन्धी मुद्दा १११ वटा, महिला तथा बालबालिका सम्बन्धी अपराध ८४ वटा, चोरी सम्बन्धी अपराध ८३ वटा, अन्य विविध अपराध ६३ वटा र सवारी ज्यान मुद्दा ३१ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

यसैगरी जिल्लामा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा कुल २३३ वटा जघन्य, गम्भीर तथा आर्थिक अपराधसँग सम्बन्धित मुद्दाहरू दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले बताएका छन्। अदालत र प्रहरीमा पछिल्लो समय प्रविधि र आर्थिक कारोबारसँग जोडिएका बैङ्किङ कसुरका घटनाहरू तीव्र रूपमा बढेको डीएसपी रावतले बताए। कञ्चनपुरमा मात्रै एक वर्षमा ८६ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ८४ वटा मुद्दा दर्ता, जुवातास सम्बन्धी २६ वटा, ठगी सम्बन्धी २६ वटा, कर्तव्य ज्यान ५ वटा, मानव बेचबिखन तथा ओसारपसार ३ वटा, मुद्रा सम्बन्धी (खोटा नोट/कारोबार) २ वटा र हातहतियार तथा खरखजाना १ वटा मुद्दा दर्ता भएको छ। 

यसैगरी जिल्लामा एक वर्षको अवधिमा १ हजार १६६ जना विभिन्न मुद्दाका प्रतिवादीलाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा रहेका र अदालतबाट सजाय तोकिएका २२६ जना प्रतिवादीहरू अझै पक्राउ पर्न बाँकी रहेको रावतको भनाई छ। उनीहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आगामी दिनमा पनि जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न, आर्थिक अपराध नियन्त्रण गर्न र नागरिक केन्द्रित सेवा विस्तारमा थप सक्रिय भएर लाग्ने डीएसपी रावतको भनाई छ। 
 

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस