सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिटर ब्याजले अपराध फस्टायो, करोडौँ रकम सहित फरार हुने बढे

२०७६ भदौ २२, ०७:१६ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहहरुको सञ्जाल फैलिँदै गएपछि अपराधले पनि प्रसय पाएको छ। मिटर व्याज र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरैको टाट पल्टिएको छ भने अपराध पनि फस्टाएको छ। 

रातारात मालामाल हुने सपना देखाउँदै धनगढीमा मिटर ब्याजको अवैध धन्दा झन झन सांगठनिक रुपमा फस्टाउँदै गएको हो। ‘मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, इज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठले भने, ‘मिटर ब्याजका कारोवारीलाई राजनीतिक दलका नेताहरुले नै संरक्षण गर्न थालेपछि अवैध धन्दा फस्टाएको हो।’

उनका अनुसार मिटर ब्याजलाई रोक्न नेताहरुले कारोवारीलाई जोगाउन खेल बन्द गर्नुपर्छ। मिटर ब्याजकै अवैध धन्दाका कारण कैलाली जिल्ला अदालतमा मात्रै चेक अनादरका मुद्धा बढ्दै गएका छन्। आर्थिक बर्ष २०७४/०७५ मा एक सय पाँच चेक अनादरका मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर दुई सय ५३ पुगेका छन्।

‘चेक अनादरको मुद्धा बढ्नुले मिटर ब्याज र ढुकुटीको अवैध धन्दा मौलाएको स्पष्ट हुन्छ,’ अधिवक्ता गंगाराम पाध्यायले भने, ‘अदालतले कानुनी रुपमै मिटर ब्याज भन्न सक्दैन तर चेक अनादर बढ्नुले धनगढीमा मिटर ब्यान र ढुकुटी जस्ता अवैध धन्दा मौलाएको पुष्टि हुन्छ।’

कैलालीका एक जना प्रहरी अधिकारीका अनुसार धनगढीमा मिटर व्याज र ढुकुटीमा उच्च र बौद्धिक वर्गको संलग्नता देखिएको छ। कैलालीमा सम्पन्न र सौखिन महिलाहरु बढी मात्रामा मिटर व्याज र ढुकुटीको चक्करमा फसेका छन्। ‘मिटर ब्याजको धन्दामा रहेकाहरुले, बाउन्सर राखेका छन्,’ श्रोतले भन्यो, ‘चर्को ब्याजमा रकम लिनेले दिन्न भनेपछि, धम्क्याउदै असुली गर्ने परिपाटी नै बनिसकेको छ, यस्ले अपराध पन बढाएको छ।’ 

मिटर ब्यजका कारोवारीहरु धेरैलाई फसाएर करौडौं रकम सहित फरार हुनेको सङख्या समेत बढ्दै गएको छ। सुरुमा धनगढीको चौराहमा रहेको कन्काई फेन्सी पसलका सञ्चालक, त्यसपछि धनगढीका व्यवसायी दिपक खड्का, धनगढीको एलएनचोकमा रहेको सिद्धार्थ सुनचाँदी पसलका सञ्चालक खगेन्द्र सुनार, कामना स्टोरका सञ्चालक लगायत दर्जनौँ व्यापारीहरु मिटर ब्याजको अवैध धन्दा सञ्चालन गर्दै आएका थिए र अहिले उनीहरु सबै सम्पर्क बिहिन छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने मिटर ब्याजका विषयमा कुनै गुनासो समेत नआएको बताउँदै आएको छ। ‘आपसी लेनदेन भएका कारण प्रहरी प्रशासनले केही पनि गर्न नसक्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘म आएपछि पीडितहरु जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी छैन्।’ 

तर स्थानीयले भने प्रहरी र स्थानीय प्रशासनको मौनताका कारण फैलिदै गईरहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहीको उठिबास भएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस