सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिदेश जानुपर्ने बाध्यता झनै बढ्यो, ८ बर्षमा कैलालीका ५२ हजारले राहदानी बनाए

२०७६ भदौ २१, ०७:१० कमल सावद

देशमा सङ्घीयता आएपनी रोजगारीका लागी तेस्रो मुलुक जानु पर्ने बाध्यता कायमै छ। तीन तहको सरकार आउँदा पनि स्वदेशमै रोजगारीका अवसर सिर्जना नहुँदा सुदूरपश्चिमवासीबाट रोजागरीका लागि तेस्रो मुलुक जानेहरूको सङ्ख्या बढ्दै गइरहेको हो। स्वदेशमा रोजगार गर्ने वातावरण नभएको भन्दै दैनिक युवाहरु वैदेशीक रोजगारीका लागि राहदानी बनाउन प्रशासन धाउने गरेका छन्। 

‘वैदेशीक रोजगार रहर नभएर बाध्यता बनेको छ,’ छोराको राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका गोदावरी नगरपालिका ओलानीका भीम रावलले भने, ‘देशमा तीन तहको सरकार आएसंगै रोजगारीका सम्भावना पनि बढ्दै जाने आशा थियो तर त्यस्तो हुन सकेन्।’

दैनिक गुजारा चलाउनैका लागि भारतमा वर्षौ देखि काम गर्दै आएका नेपालीको तथ्याङक समेत नरहेको अवस्थामा पछिल्लो ८ बर्षमा कैलालीका झण्डै ५२ हजारले तेश्रो मुलुक जान राहदानी बनाएका छन्। ‘२७ हजार बढिले जिल्ला प्रशासन कार्यालय कैलालीबाट राहदानी बनाएका छन्,’ जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्साल भने, ‘२४ हजार बढिले काठमाडौँबाटै राहदानी बनाएर तेश्रो मुलुक गएका छन्।’

उनका अनुसार प्रदेश र स्थानीय सरकार गठन हुनु अगाडी आर्थिक बर्ष २०७३÷०७४ मा चार हजार ५ सय ७९ कैलालीका नागरिकले राहदानी बनाएकोमा अहिले आएर प्रदेश र स्थानीय सरकार भएपनि आर्थिक बर्ष २०७४÷०७५ मा त्यो सङख्या बढेर ५ हजार ८ सय र २०७५÷०७६ मा ४ हजार ७ सय कैलालीका नागरिकले राहदानी बनाएका छन्।

यो तथ्याङकले प्रदेश र स्थानीय सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिन नसकेको पुष्टि हुन्छ। नगरपालिका महासंघ सुदूरपश्चिमका संयोजक तथा वैतडीको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले पनि स्थानीय र प्रदेश सरकार आईसकेपनि धेरै ठुलो परिवर्तन हुन नसकेको स्वीकार गरे। 

उनले स्वदेशमै रोजगारीका लागि स्थानीय र प्रदेश सरकारले समेत प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार गरे। सङ्घीयता आए पनि राज्यको सञ्चालन प्रक्रिया पुरानै हुँदा बेरोजगारी अहिले पनि व्याप्त रहेको धेरैको गुनासो छ। सरकारले ल्याएका युवा लक्षित रोजगारका कार्यक्रम पनि कागजमै सीमित वनेका छन्।

लक्षित बर्गका कार्यक्रम, युवा रोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रमहरु अहिले कार्यकर्तामुखी बनेका छन्। प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले भने स्वदेशमै रोजगारीका लागि विभिन्न कार्यक्रम सञ्चालन भईरहेको बताए। उनले त्यस्को नतिजा अहिले नै नदेखिएपनि केही समयमा देखिने बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस