मुख्यमन्त्रीको घुर्की नसहन एमालेलाई नेता थापाको सुझाव
धनगढीः एमालेका सुदूरपश्चिम प्रदेश सदस्य प्रशान्त थापाले सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान सत्ता समीकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेससँगको सहकार्य पुनर्विचार गरी नेकपासँग नयाँ सरकार गठनको पहल गर्नुपर्ने सुझाव दिएका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै काँग्रेस नेतृत्वको सरकारसँग एमालेको सहकार्य दीर्घकालीन रूपमा टिक्नेमा शंका व्यक्त गरेका छन्। उनका अनुसार काँग्रेस नेतृत्वले भविष्यमा एमालेसँगको सहकार्य अन्त्य गरी नेकपासँग नयाँ सहमति गर्न सक्ने सम्भावना देखिएकाले एमालेले समयमै राजनीतिक निर्णय लिनुपर्ने आवश्यकता रहेको छ।
यही सन्दर्भमा उनले काँग्रेससँगको वर्तमान सत्ता सहमति अन्त्य गर्दै एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण निर्माण गरेर सरकार गठन गर्नुपर्ने सुझाव दिएका छन्।
थापाले एमालेले मु्ख्यमन्त्री कमलबहादुर शाहले लगाएको घुर्की सहनुपर्ने आवश्यकता नरहेको बताएका छन्। मुख्यमन्त्री शाहले एमालेलाई कि बजेट संशोधन प्रस्ताव फिर्ता गर्न कि त सरकार छाड्न आग्रह गरेको समाचार प्रकाशित भएपछि थापाले एमाले नेतृत्वलाई सरकार छोड्न सुझाव दिएका हुन्। उनले एमालेले मुख्यमन्त्री शाहको घुर्की सहेर सत्तामा बस्नु आवश्यक नरहेको तर्क गरेका छन्।
थापाको यो अभिव्यक्ति व्यक्तिगत धारणा भएको देखिन्छ। यस विषयमा एमाले पार्टी वा अन्य सम्बन्धित पक्षबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।