सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रमुख सवार सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

२०८३ असार २७, ०३:३८ खबर संवाददाता

धनुषा: धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान उपप्रमुख सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा सरकारी गाडीमा रहेका तीन जना गरी आठ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, महोत्तरीको गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी, ६५ वर्षीय लक्ष्मी महतो तथा गौशाला नगरपालिका–५ की ४० वर्षीया रेणु कुमारी महतो रहेका छन्। रेणु कुमारी महतोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्यको अवस्था सामान्य छ। राजु देवी पहिलेदेखि पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको जनाइएको छ।

सरकारी गाडीमा चालक धनुषाधाम नगरपालिका–८ का ५० वर्षीय बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख ६५ वर्षीया विद्दा भुजेल र ७० वर्षीय भीमराज भुजेल घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस