सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सार्वजनिक सम्पत्ति व्यवस्थापन र खरिद सम्बन्धी अन्तरक्रिया सम्पन्न

२०८३ असार १९, ०९:४४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरास्थित प्रादेशिक कार्यालयहरूका प्रमुख, लेखा प्रमुख, जिन्सी प्रमुख तथा प्राविधिक कर्मचारीहरूको सहभागितामा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली, जिन्सी व्यवस्थापन तथा सार्वजनिक खरिदसम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिन्सी व्यवस्थापन सम्बन्धी सहजीकरण लेखा अधिकृत त्रिमलबहादुर साउदले गरेका थिए। यस्तै, खरिद प्रक्रिया, सालतमामी, खाताबन्दी तथा अन्य प्रशासनिक विषयमा कार्यालय प्रमुख पदम बिष्टले सहजीकरण गरेका थिए।

कार्यक्रममा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरिएको थियो। साथै, हालै जारी भएको सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन) अध्यादेशका प्रमुख प्रावधानबारे पनि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
कार्यक्रमको सुरुआतमा लेखा अधिकृत नित्यानन्द जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

यस अवसरमा डडेल्धुरा जिल्लास्थित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको वित्तीय प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो। विवरणअनुसार, चालुतर्फ ४८ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

चालुतर्फ १ अर्ब २ करोड २६ लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ४८ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी, पुँजीगततर्फ १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ विनियोजन भएकामा ९३ करोड ३० लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस