सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा सवारी दुर्घटना : एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

२०७६ भदौ १९, ०१:३७ खबर संवाददाता

अमेरिकामा सवारी दुर्घटना हुँदा एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। अमेरिकाको मुसौरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तिनको छोरीको मृत्यु भएको पुष्टि भएको छ भने सोही परिवारका २ जना गम्भीर घाइते भएका छन्।

अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र शारदा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको छ। शान्ता नाताले गोविन्दका श्रीमती र शारदा छोरी हुन्। जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा मृत्यु भएको लेखेको छ।

दुर्घटनामा कारका चालक शान्ताका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन्। अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ। उनका छोरा गम्भीर छन्।

टोयोटाको आरएभी ४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने खुलेको छैन। घुमफिर या अन्य अरू के प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि अस्पष्ट छ। मिजुरी दुई सय ४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरूलाई सोही दिशामा गइरहेको पिकअप ट्रकले ठक्कर दिएपछि मंगलबार दुर्घटना भएको थियो।

घटनामा प्रहरीले अन्य सवारीका दुई चालकलाई नियन्त्रणमा लिएको छ तर पहिचान खुलाएको छैन। द जोप्लिन ग्लोबका अनुसार, घटनाबारे अहिले दी मेजर जोप्लिन पुलिस विभागले अनुसन्धान गरिरहेको छ।
 
 

कमेन्ट लोड गर्नुस