लाम्पाटामा आक्रमण गर्ने २१ जना अदालतको म्याद थपसँगै प्रहरी नियन्त्रणमा
धनगढीः बाजुराको लाम्पाटा क्षेत्रमा जनप्रतिनिधि, प्रहरी र कर्मचारीमाथि भएको आक्रमण घटनामा संलग्न २१ जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेका व्यक्तिमध्ये २० जनालाई ९ दिन र एक जनालाई १० दिनको म्याद थप गरिएको हो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उनीहरूविरुद्ध शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप तथ्य संकलन, संलग्नताको स्तर र अन्य सम्भावित अभियुक्तहरूको खोजी कार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
गत जेठ ३ र ५ गतेका दिन हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीका स्थानीय बाजुराको लाम्पाटा-च्याचौर पुगेर स्थानीयमाथि कुटपिट गर्दै बन्धक बनाउने काम गरेका थिए। उनीहरुको कुटपिटमा परेर लाम्पाटाका पाँच जना घाइते भएका थिए।
कुटपिटपछि स्थानीय दश परिवार हिमाली गाउँपालिकाको गुम्बास्थित आफन्तहरूको घरमा आश्रय लिएर बसेका थिए। सरकारले लाम्पाटामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बेस क्याम्प राखेपछि मात्रै विस्थापित परिवार घर फर्किएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए।