नेपाली महिला फुटबल टिम कीर्गिस्तान प्रस्थान
कीर्गिस्तानमा हुने नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। सेप्टेम्बर आठ ताखिरदेखि हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे।
बिदाइ कार्यक्रममा सिलवालले खेलाडीले खेल्नु अगाडि बीमा बिनाको खेलमा स्विकृति नदिन निर्देशन दिएका छन्। कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन जानु भन्दा खेलाडी र रेफ्रिको बीमा अनिवार्य गराउनु पर्ने, यदि बीमा नभएको प्रतियोगितामा सहभागिताका लागि स्विकृति नै दिन नहुने उनले बताए।
यसका साथै खेलाडीले जुन पायो त्यही प्रतियोगितामा सहभागि हुन पनि रोक्नुपर्ने उनले बताए। उनले भने एन्फाले निश्चित क्यालेन्डर बनाएर, कसरी प्रतियोगिता व्यवस्थापन गर्न सकिन्छ, त्यो अब गर्नुपर्ने र यदि एउटै खेलाडी सबै प्रतियोगितामा खेल्न जाँदैछन् भने उनीहरुलाई कसरी आराम पुग्ने गरी प्रतियोगितामा सहभागिता गराउनु पर्ने हो त्यो एन्फाले गर्नुपर्छ।
खेलाडी घाइते भएपछि कसले जिम्मेवारी लिने, उनीहरुको प्रदर्शन कसरी राम्रो गराउन सकिन्छ भन्नेमा ध्यान दिन अब ढिलो नगर्नुपर्ने सिलवालको भनाइ थियो।