प्रदेश सभामा सामान खरिद गर्न २ करोड बजेट
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयका लागि गाडीसहितका विभिन्न सामान खरिद गर्न दुई करोड ९ लाख २२ हजार ६ सय रुपैयाँ छुट्याएको छ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा गाडी, मोटरसाइकल, कम्प्युटर, क्यामेरा, एसी र सोफासेटलगायतका अफिसियल सामान खरिद गर्न बजेट विनियोजन गरिएको हो।
आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख भएअनुसार प्रदेश सभा सचिवालयका लागि विभिन्न २९ शिर्षकमा सामान खरिद गर्न बजेट छुट्याइएको छ।
सरकारले प्रदेश सभा सचिवालयका लागि गाडी खरिद गर्न एक करोड तथा मोटरसाइकल / स्कुटरका लागि थप १० लाख ६४ हजार बजेट व्यवस्था गरेको छ।
बजेटमा प्रदेश सभा सचिवालयका लागि कार्पेट खरिद गर्न पाँच लाख ५१ हजार, मर्मत सुधार शिर्षकमा ४४ लाख ८ हजार, टि-टेबल खरिद गर्न एक लाख ४४ हजार, सोफासेट मर्मत गर्न एक लाख ५२ हजार तथा प्लास्टिक कुर्सीका लागि ४६ हजार विनियोजन गरिएको छ।
प्रदेश सभा सचिवालयमा इन्भर्टरका लागि एक लाख ९० हजार, कुलरका लागि ४६ हजार, एसीका लागि ७ लाख ६० हजार तथा अफिस टेबलका लागि तीन लाख ४२ हजार बजेट विनियोजन गरिएको छ।
यसैगरी, ल्यापटप खरिद गर्न एक लाख ९० हजार, भ्याकुम क्लिनरका लागि ७६ हजार, डिजिटल क्यामेराका लागि पाँच लाख ७६ हजार, डिजिटल डिस्प्ले बोर्डका लागि ६ लाख ४६ हजार तथा प्रिन्टर खरिद गर्न ९१ हजार छुट्याइएको छ।
प्रदेश सभाका लागि इलेक्ट्रिक गेट व्यारियरका लागि तीन लाख ८० हजार, घुम्ने कुर्सीका लागि एक लाख ९० हजार, कम्प्युटर टेबलका लागि २३ हजार, सोफासेटका लागि तीन लाख ४२ हजार तथा दराज खरिद गर्न एक लाख १४ हजार बजेट विनियोजन गरिएको छ।