जिल्ला प्रशासन कार्यालय कैलाली नै प्रशासकीय अधिकृतविहीन
धनगढी: जिल्ला प्रशासन कार्यालय कैलाली प्रशासकीय अधिकृतविहीन भएको छ। कार्यालयमा तीन जना प्रशासकीय अधिकृतको दरबन्दी भए पनि दुई जनाको अन्यत्र सरुवा र एक जना सुत्केरी बिदामा बसेपछि जिल्लाकै प्रमुख अड्डामा कर्मचारी अभाव भएको हो।
प्रशासकीय अधिकृत नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीबाट सम्पादन हुने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। उनका अनुसार तीन जना प्रशासकीय अधिकृतको दरबन्दीमा एक जना मात्रै कार्यरत रहेको र उनी पनि ६ महिनाको सुत्केरी बिदामा बसेकाले नागरिकता लगायतका सेवा दिन मुस्किल भएको छ।
"सरकारले जिल्ला प्रशासन कार्यालयबाट एकद्वार प्रणाली लागु गरेर सेवा दिने भनेको छ तर कर्मचारी अभावले सेवाग्राहीलाई नागरिकता दिनसमेत समस्या छ," उनले भने, "प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले पालैपालो नागरिकतामा हस्ताक्षर गर्नुपर्ने अवस्था छ। अध्यागमन कार्यालयबाट अधिकृत बोलाएर काम गर्नुपर्ने स्थिति बनेको छ।"
जिल्ला प्रशासन कार्यालयमा मात्रै होइन सुखडमा रहेको इलाका प्रशासन कार्यालयमा समेत प्रशासकीय अधिकृत छैनन्। जसका कारण उक्त क्षेत्रका नागरिकलाई नागरिकताको प्रमाणपत्र लिन समस्या छ।
जिल्ला प्रशासनले नै बजार अनुगमन गर्नुपर्ने, जिल्लाभरका मुद्दा मामला समेत आउने भएकाले ती काममा खटाउन कर्मचारी नै नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।