सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै वन कर्मचारी आन्दोलित 

२०८३ असार १, ०५:२१ नारायण अवस्थी

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईबाँधे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसेको घटनापछि पक्राउ परेका वन कर्मचारीहरूको रिहाइको माग गर्दै डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएका छन्।

अन्दोलित वन कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी, वन सचिव दीर्घनारायण कोइराला, वन निर्देशक हेमराज विष्टलाई  ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत जेठ २९ गते चुरे क्षेत्रमा अतिक्रमण हटाउने कार्य भइरहेको बेला सडक किनारस्थित वन क्षेत्रमा लामो समयदेखि टेप्रो राखेर व्यापार–व्यवसाय सञ्चालन गरिँदै आएको स्थानबाट टेप्रो हटाउने क्रममा भएको घटनालाई आधार बनाएर डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृतसहित १२ जना वन कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

ज्ञापनपत्रमा उक्त अभियान प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको वन अतिक्रमण नियन्त्रण समिति तथा जिल्ला वन सुरक्षा समन्वय समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालन गरिएको उल्लेख गरिएको छ।

वन कर्मचारीहरूले अतिक्रमण नियन्त्रणका क्रममा भीडको उत्तेजना र असावधानीका कारण भएको दुर्घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित बनाइएको तथा वन अतिक्रमणलाई प्रोत्साहन पुग्ने गरी कर्तव्यपालनका क्रममा भएको त्रुटिलाई गम्भीर फौजदारी कसुरसरह व्याख्या गरेर कर्मचारीहरूलाई थुनामा राख्नुले वन कर्मचारीहरूको मनोबल कमजोर बनाएको बताएका छन्।

उक्त घटनाले वन अतिक्रमण नियन्त्रण तथा वन संरक्षणका कार्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले क्षतिग्रस्त टेम्पोको क्षतिपूर्ति संवाद र सहमतिका माध्यमबाट समाधान गरी प्रहरी नियन्त्रणमा रहेका सम्पूर्ण वन कर्मचारीलाई तत्काल निःसर्त रिहा गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा वन ऐन, २०७६ बमोजिम वन क्षेत्रको संरक्षण गर्ने कानुनी दायित्व निर्वाह गरिरहेका कर्मचारीमाथि कारबाही गरिए डिभिजन वन कार्यालय कैलालीका सम्पूर्ण कर्मचारी वन सेवाप्रति सामूहिक रूपमा जवाफदेही र जिम्मेवार रहने तथा आवश्यक परे सामूहिक गिरफ्तारी दिनसमेत तयार रहेको चेतावनी दिइएको छ।

साथै, वन अतिक्रमण नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षणलगायतका कार्यमा संलग्न वन कर्मचारीहरूलाई आवश्यक कानुनी संरक्षण तथा सुरक्षित कार्यसम्पादनको वातावरण सुनिश्चित गर्नसमेत ज्ञापनपत्रमार्फत माग गरिएको छ। कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत धर्ना दिएका छन्।

आन्दोलित वन कर्मचारीहरूले प्रहरी नियन्त्रणमा रहेका सहकर्मीहरू रिहाई नगरिए वन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प गर्ने चेतावनी दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस